धरानः कोरोना भाईरसको थप संक्रमण फैलन नदिन भोलि(बुधबार)देखि धरानमा अनावश्यक रुपमा घर बाहिर हिड्डुल गरे प्रहरीले पक्राउ गर्ने भएको छ । सरकारले देशभरी नै लकडाउन गरेपनि मंगलवार त्यसको उलघंन भएपछि भोलिबाट प्रहरीले थप कडाई गर्न त्यस्तो निर्णय गरेको हो ।
बुधबारदेखि कसैलाई पनि बाहिर निस्कन दिइने छैन । कोही भेटिएमा पक्राउ गरेर दिनभर प्रहरी कार्यालयमा राखिने इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । उनले भने ‘भोलीदेखि बाहिर मान्छे हिडेको भेटियो भने नियन्त्रणमा लिन्छौ ,‘दिनभर प्रहरी कार्यालयमा राख्छौं, र साँझ आफन्तको जिम्मा लगाइदिन्छौं ।’
सरकारले लकडाउन घोषणा गरेसँगै जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो । तर, पहिलो दिन धरानमा लकडाउन एवं निषेधाज्ञा उल्लंघन गर्नेहरु थुप्रै भेटिए । प्रहरीले सम्झाए पनि केही व्यक्तिहरु उल्टै प्रहरीसँग झगडा गर्न तम्सिएका थिए । दिनभर २५५ सवारी पक्राउ पर्यो भने प्रहरीसँग झगडा गर्न खोज्ने २ जना पक्राउ परेका थिए । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) अनुसार जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञालाई टेकेर प्रहरीले बुधबारदेखि बाहिर हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिने जनाएको हो ।
यसैबीच मंगलवार साझ ५ बजेसम्ममा लकडाउन उल्लंघन गरेर गुडेका २५५ वटा निजी सवारीको चाबी प्रहरीले धरानबाट नियन्त्रणमा लिएको छ । धरानको विभिन्न स्थानबाट प्रहरीले लकडाउन उल्लंघन गरेर हिडिरहेको अवस्थामा ती सवारीलाई रोकेर चाबी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनका अनुसार नियम उल्लंघन गरेर हिडेका २ युवा प्रहरीसँग झगडा गर्न खोजी पछि नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई सम्झाएर छोडिएको पनि डिएसपी न्यौपानेले बताए ।