धरानः सरकारले लागू गरेको लकडाउनको फाइदा उठाउदै वीपी कोइराला स्वास्थ्य विज्ञान परिषरमा रहने एम्बुलेन्सहरुले मनलाग्दी भाडा असुलिरहेको पाइएको छ । अन्यबेलाको भन्दा दोब्बर तेब्बर भाडा असुल्दापनि सम्बन्धित निकाय मौन रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् । एम्बुलेन्सका चालकहरुले इन्धन नपाइने भन्दै मनपरी भाडा लिने गरेको पाइएको हो । गत शुक्रबार वराहक्षेत्र नगरपालिका स्थित बयरवनका प्रकाश राउतले बिरामी पुर्याउन एम्बुलेन्स चालकलाई भाडा दर सोध्दा २५ सय रुपैयाँ मागेका थिए । एम्बुलेन्स चालकसँग उनले गरेको कुराकानी नै फेसबुकमा समेत पोष्ट गरेका छन् ।

सुनसरी खोटाङ जनहित संघ धरान १८ द्वारा संचालन रहेको एम्बुलेन्सले उनलाई वराहक्षेत्रको बयरवनसम्म पुर्याउन २५ सय रुपैयाँ मागेका थिए । भाडा किन महँगो भन्दा चालकले पम्पमा तेल नै पाइँदैन्, पेट्रोल पम्पको मान्छेलाई खोज्न जानुपर्छ, भनेको बेलामा तेल पाइँदैन भन्दै २५ सय भाडा लाग्ने बताए । एम्बुलेन्स चालक दिपक खवासले इन्धनको समस्या देखाउँदै ११ सय रुपैयाँ लाग्ने भाडा दरलाई २५ सय रुपैयाँ मागेका छन् । बयरवन धरानदेखि करिब १० किलोमिटरको दूरीमा रहेको छ । बढीमा पनि ११ सय रुपैयाँ लाग्ने भाडामा एम्बुलेन्स चालकहरुले मनपरी भाडा उठाउने गरेका छन् ।

देशमा भइरहेको कोरोनाको संक्रमणको अवस्थामा लुट गर्ने भन्दै प्रकाशले प्रश्न गर्दा पम्प खोलाइदिए सस्तोमै लगिदिने चालक खवासले उत्तर दिएका थिए । को १ छ ९०११ नम्बरको एम्बुलेन्स चालक खवासले रेटलिस्टमा १५ सय रहेको बताउँदै पम्प नखुलेको कारण देखाउँदै दोब्बर भाडा असुल्ने गरेका हुन् । सामाजिक सञ्जालमा एम्बुलेन्स चालकले बढी भाडा लिएको आरोपमा सुनसरी खोटाङ जनहित संघ धरान १८ ले चालकलाई एम्बुलेन्स र चाबी बुझाउन सार्वजनिक पत्र पठाएको छ ।

एम्बुलेन्स चालकले तेल नपाउने गरेको, पम्प नखुलेको कारण देखाउँदै बिरामीलाई भाडामा ठग्न थालेको रहस्य यो घटनापछि सार्वजनिक भएको छ । ती एक चालकमात्र होइन । बीपी प्रतिष्ठानका अधिकांश एम्बुलेन्स चालकले मापदण्डविपरीत दोब्बर भाडा लिने गरेको सर्वसाधारणको गुनासो छ । यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको भन्दै बिरामीका आफन्तहरुले गुनासो गरेका छन् । कोरोनाको संक्रमणले त्रसित बनेको अवस्थामा सरकारले लकडाउन घोषणा गरेको छ । एम्बुलेन्सको ठगीलाई रोक्न प्रशासनले कडा अनुगमन गर्न आवश्यक रहेको गुनासो सेवाग्राहीको छ ।