इटहरीः लकडाउनका बेला भारतीय सीमा क्षेत्रबाट औषधी र खाद्यन्न लिएर घर तर्फ आउदै गरेका सप्तरीका दुई युवालाई अमानविय तरिकाले कुटपिट गर्ने शसस्त्र प्रहरीका हबल्दार निलम्बित भएका छन् । कुटपिटमा संलग्न शसस्त्र प्रहरीका हबल्दार मनोज चौधरी निलम्बित भएका हुन् । उनलाई शसस्त्र प्रहरी प्रदेश नम्बर २ का प्रमुख डिआइजी राजु अर्यालले निलम्बन गरेका हुन् ।

नेपाल बोर्डर आउट पोष्ट कोदरकट्टीमा कार्यरत प्रहरी जवान चौधरीले बलान नदीको बगरमा रोकेर सप्तरीको बलानबेहुन गाँउपालिकाका हरिकृष्ण साह र चन्द्रदेव यादवलाई अमानवीय तरिकाले कुटपिट गरेका थिए ।

अर्यालले सीमा क्षेत्रको सुरक्षाको जिम्मेवारी पाएका सहायक प्रहरी निरिक्षक केशब थापालाई सप्तरी सदरमुकाम राजबिराज तानेका छन् । घटनाका बिषयमा गम्भिर ढंगले अनुसन्धान जारी राखेको डिआइजी अर्यालले बताए । प्रहरी जवान चौधरीले दुई युवालाई अमानविय तरिकाले कुटपिट गरि पशुलाई झै दारपाउ टेकाएर यातना दिएको भिडियो सामाजिक संजालमा भाइरल भएपछि शसस्त्र प्रहरीको नागरिक तहबाटै व्यापक आलोचना भएको थियो । त्यसपछि शसस्त्रको केन्द्रिय कार्यालयको निर्देशनमा २ नम्बर प्रदेश कार्यालयले घटना बारे छानविन थालेको थियो ।