इटहरीः भारतबाट आएका धरानका ९ जनालाई मोरङको टाँडीमा रहेको क्वारेन्टाइनमा पठाइएको छ । भारतबाट एक साता अगाडि फर्किएका उनीहरु लकडाउनका कारण विराटनगरमा आफन्तकोमा बसिरहेको जानकारी धरान प्रहरीले मोरङलाई खबर गरेको थियो ।
धरान प्रहरीको सूचनाका आधारमा मोरङ प्रहरीले तत्काल उनिहरु रहेको स्थानमा खोजी कार्य जारी गरेको थियो । उनीहरु धार्मिक सभामा सहभागी भएको नदेखिएपनि भारतबाट आएको पाइएपछि मोरङको मिक्लाजुङ टाँडीस्थित क्वारेन्टाइनमा पठाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
दिल्लीमा भएको मुश्लिमहरुको धार्मिक सभामा सहभागी भएर आएको भनिएका उनीहरु सो सभामा भने सहभागी नभएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक विश्व अधिकारीले जानकारी दिएका छन् ।
धरान ९ स्थित आचार्यलाइनका एक व्यक्तिसहित ९ जना दिल्लीको धार्मिक सभामा सहभागी भएर विराटनगरमा आई बसेको जानकारी धरान प्रहरीले यसअघि दिएको थियो । तर, उनीहरु दिल्लीको सभामा सहभागी नभएको र कोरोनाको कुनैपनि लक्षण नदेखिएको भएपनि क्वारेन्टाइनमा पठाइएको अधिकारीले जनाए ।
दिल्लीको धार्मिक सभामा सहभागी भएका मोरङ विराटनगरका एक व्यक्तिको पहिचान गरेको छ । जिल्ला प्रहरीका अनुसार विराटनगर रानी घर भएका उनि मार्च १० का दिन विराटनगर आइपुगेका थिए । उनि घरमै क्वारेन्टाइनमा बसेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिएका छन् ।