इटहरीः लकडाउनको मौका छोपेर जंगलमा सिकार खेलिरहेका सिकारी र वन सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुको टोली बीच सुक्रबार दिउँसो ३ बजेको समयमा गोली हानहान भएको छ । सो क्रममा सुरक्षाको संयुक्त टोलीले ३ जनालाई भरुवा बन्दुक सहित पक्राउ गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ मा रहेको सलकपुर सामुदायिक वनको उत्तरी सिमाना क्षेत्रमा सिकार खेलिरहेका ३ जना सिकारी २ नाल भरुवा बन्दुक सहित डिभिजन वन कर्यालय सलकपुरबाट खटिएको संयुक्त सुरक्षाटोलीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुर र सशस्त्र वन रक्षक सलकपुर डिभिजन वन कार्यालयको संयुक्त टोलीले २ नाल भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको बताइएको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका आमजुँगीका ३५ वर्षीय डम्बरबहादुर जोगी, सोही ठाउँका २७ वर्षीय किसान कार्की र झापाको धाइजनका २७ वर्षीय किरण धिमाल रहेका छन् ।
सलकपुर र केराबारीका गरी ४० जना जतिको समूहमा सिकार खेलिरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल हाइवे सुरक्षा पोष्ट सलकपुरका प्रहरी निरीक्षक विदुर भट्टराईको नेतृत्वमा गएको टोलीलाई देखेपछि सिकारीले फायर गरेका थिए । सिकारीको संख्या ठूलो भएको र हतियारसहित आमनेसामने भएपछि सशस्त्र प्रहरी बलबाट जवाफी फायर गरेर नियन्त्रणमा लिइएको शसस्त्रका प्रहरी निरिक्षक भट्टराईले बताए ।
वन रक्षकबाट ७ राउण्ड, सशस्त्र प्रहरीबाट १ राउण्ड र सिकारीबाट ९ राउण्ड फायर भएको प्रहरी निरीक्षक भट्टराईले बताए । सिकारीको साथबाट २ सय ग्राम बारुद र एउटा मोबाइल नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका सिकारीलाई कानुनी कार्वाहीका लागि प्रक्रिया अघि बढाइने सब डिभिजन बन कार्यालय सलकपुरका प्रमुख लालबहादुर माझीले जानकारी दिएका छन् ।