इटहरीः  उत्तरी मोरङको केराबारी र सलकपुर बिचमा पर्ने सामुदायिक बन क्षेत्रमा शुक्रवार चोरी सिकारी र सुरक्षाकर्मी बिच जङ्गलको बिच भागमा दोहोरो ’क्रस फायर’ भयो । झन्डै ४० को सङ्ख्यामा रहेका चोरी सिकारीहरू भरुवा बन्दुक बोकेर जङ्गल छिरेको सूचनाको आधारमा सलकपुरस्थित सशस्त्र प्रहरी गण र सव डिभिजन बन कार्यालय सलकपुरका सशस्त्र बन रक्षकको टोलीले उनीहरूलाई नियन्त्रणमा लिन पुगेको थियो ।
तर सिकारीहरूले सुरक्षाकर्मी देख्न साथ फायर खोले । दोहोरो क्रस फायरमा तीन जना चोरी सिकारी पक्राउ परे । दुई थान भरुवा बन्दुक र त्यसमा लाग्ने बारुद बरामद भयो ।
दोहोरो क्रस फायरमा दुवै समूहबाट १६ राउण्ड गोली फायर भएको थियो । समूह बनाएर जङ्गल छिरेका सिकारीलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई निकै मुस्किल परेको थियो । बाँकी रहेका सिकारी घना जङ्गलको फाइदा उठाउँदै फरार भएका थिए ।केराबारी र सलकपुरको बिचमा ७ वटा सामुदायिक बन छन् । प्रत्येक बनमा तीन जना हेरालु परिचालन हुन्छन् । शुक्रवार पनि डिउटीमा रहेका हेरालुले सिकारी समूह देखेपछि सव डिभिजन बन कार्यालय सलकपुरलाई जानकारी गराएका थिए ।
पछिल्लो एक सातामा यसै जङ्गलमा चोरी सिकारीको घटना निकै घटिसकेका छन् । मानव बस्तीदेखि नजिक रहने केही सामुदायिक बन क्षेत्रमा दिउसो र बिहान पख गोली पड्केको आवाज पटक पटक सुनिने गरेको स्थानीय बताउँछन् ।
‘गोली पड्केको भोलि पल्ट हरिण वा बँदेलको मासु किनबेच भएको छर्लङ्ग देखिन्छ’ स्थानीय एक शिक्षक भन्छन् ‘लकडाउनले मान्छेहरू फुर्स्दिला भएका छन् र चोरी सिकारी बढेको छ’ ।
‘अहिले जङ्गलसँग जोडिएका सडक तथा भित्री बाटोहरूमा निर्बाध रूपमा जरायो, हरिण, मृग, लाचे, खरायो र बँदेल देखिन थालेका छन् । लकडाउनका कारण सडक सुनसान भएर होला बाटोबाटै जङ्गली जनावर देखिन्छन् । यसैको फाइदा उठाउँदै सिकारीहरू सक्रिय छन् आजभोलि’ ।
ती शिक्षकका अनुसार केही सामुदायिक बनका पदाधिकारी समेत वन्यजन्तुको सिकारीमा संलग्न भएको दाबी गर्छन् । केही दिन अघि एक सिकारी समूहले हरिणका दुई वटा साना बच्चाहरू चोरी गरी गाउँ ल्याएको बताए ।
चोरी सिकारी नियन्त्रण गर्ने हो भने पहिले बन जङ्गल क्षेत्र आसपास रहने बस्तीका घर घरका अवैध भरुवा बन्दुक नियन्त्रणमा लिन सक्नु पर्छ, अनि मात्र चोरी सिकारी कम हुने उनको सुझाव छ ।

sikari photo pradeshportal.com

काठ तस्करी
अहिले उत्तरी मोरङको केराबारी र सलकपुर बिचमा पर्ने सामुदायिक बन क्षेत्रमा वन्यजन्तु सिकारीसँगै काठ तस्करी समेत बढेको छ । यी सामुदायिक बन क्षेत्रका विभिन्न स्थानमा काटेका रुखको डोब स्पष्ट देख्न सकिन्छ । शुक्रवार चोरी सिकारी र सुरक्षाकर्मी बिच भएको दोहोरो भिडन्त स्थल आसपास धेरै वटा रुख काटिएको अवस्थामा भेटिएका थिए ।
करमा र साजका कयौँ रुख काटिएको अवस्थामा छन् भने केही काट्दा काट्दै त्यतिकै छाडेको अवस्था भेटिएको बताइएको छ । करमा र साज सिसौ जतिकै महँगो काठ हो ।
सुरक्षा बढाइयो
शुक्रवार सिकारी समूह र सुरक्षाकर्मी बिच जङ्गल भित्र भएको दोहोरो गोली हानाहानपछि सव डिभिजन बन कार्यालय सलकपुरको मातहतमा रहेको ७ वटा सामुदायिक बनमा सुरक्षा गस्ती बढाइएको छ ।
बन कार्यालय सलपुरसँग हाल १८ वटा बन्दुक र १६ जना सशस्त्र बन रक्षक छन् । शुक्रबारको घटनाले जङ्गल सुरक्षामा नयाँ रणनीति बनाइएको सव डिभिजन बन कार्यालय सलकपुरका सहायक बन अधिकृत लालबहादुर माझीले जानकारी दिए ।
लकडाउनमा सबै मानिसहरू घर घरमा हुने भएकाले चोरी सिकारी र काठ तस्करीका घटना केही हदसम्म बढेको उनी बताउँछन् । ‘सशस्त्र बन रक्षक र सशस्त्र प्रहरीको संयुक्त टिम बनाएका छौ’ माझीले भने ‘दैनिक जङ्गलमा सर्च अभियान र गस्ती बढाइएको छ’ ।