काँकडभिट्टाः लकडाउनका बेला चिकित्सकको भेषधारण गरि काठमाण्डौंबाट आएका दुई युवालाई आइतवार बिहान झापाको काँकडभिट्टामा प्रहरीले पक्राउ गरेको छ । उनिहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा उनिहरु बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै बिहान काँकडभिट्टा आइपुगेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
उनिहरुले आफुहरु निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न झापा आएको बताएका थिए । प्रहरीले उनिहरुमाथि तत्काल छानविन गर्दा एक जनाले डा.विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेको फेला पारेको थियो ।

काठमाडौँदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको प्रहरी उपरिक्षक कोइरालाले बताए । दुबै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाउने भएको छ । प्रहरीले पक्राउ गरिएका दुई युवालाई लागू औषधको खोजीका लागि छटपटाउँदै झापा आइपुगेको आशङ्का गरेको प्रहरी उपरिक्षक कोइरालाले बताए ।