इटहरीः नेपालमा कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेसंगै सरकारले सुदुरपश्चिमका कैलाली, कञ्चनपुर र बाग्लुङमा कोरोना भाइरसको र्यापीड टेष्ट गर्न  टोली परिचालन गरेको छ ।  स्वास्थ्य मन्त्रालयले स्वास्थ्यकर्मीहरुसंग छलफल गरि आजै टेष्टका लागि टोली त्यसतर्फ परिचालन गरिएको जनाएको छ ।  मन्त्रिपरिषद् बैठकले हिजो गरेको निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कैलाली, कञ्चनपुर र बाग्लुङमा र्यापीड परीक्षणको काम शुरू गर्नका लागि टोली परिचालन गरेको हो । 

 खटिने टोलीलाई अभिमुखिकरण गरेर आजै खटाउन लागिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।  कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका २ जना संक्रमित देखिएपछि त्यहाँ र्यापीड टेस्ट गर्ने निर्णय भएको भन्दै उनले बाग्लुङसहित गरेर तीनवटै जिल्लामा टोली हिँड्ने तयारीमा रहेको बताए ।

उनका अनुसार टोलीले तीन जिल्लाका क्वारेन्टाइनमा रहेका व्यक्तिहरू र संक्रमितका परिवार तथा सम्पर्कमा रहेकाहरूको र्यापीड रूपमा आरडीटी प्रविधिबाट परीक्षण गरिने र त्यसमा कसैमा पोजिटिभ देखिएमा पुनः पीसीआर प्रविधिबाट परीक्षण गरिने छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र अन्य स्वास्थ्यका शाखाहरूले छलफल गरेको प्रवक्ता देवकोटाले बताए ।

 विदेशबाट फर्केकालाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न सुदूरपश्चिम सरकारको निर्देशन 

 प्रदेशभित्र कोभिड(१९ को उच्च जोखिम देखिएपछि सुदूरपश्चिम प्रदेश सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा बसिरहेका सबैलाई २१ दिनसम्म क्वारेन्टाइनमै राख्न निर्देशन दिएको छ।  टेलिभिजनबाट गरेको प्रत्यक्ष सम्बोधनमार्फत् मुख्यमन्त्री त्रिलोचन भट्टले भारत तथा अन्य मुलुकबाट आएका नेपाली नागरिकलाई २१ दिन अनिवार्य क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने बताएका छन्। 

सुदूरपश्चिमका विभिन्न जिल्लामा भारतलगायत मुलुकबाट फर्केका दुई हजार १४९ पुरुष र १९५ महिलालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरूलाई १४ दिनसम्म परिवार र समुदायको सम्पर्कमा जान नमिल्ने गरी क्वारेन्टाइनमा राखिएको थियो। हिजो, २२ फागुनमा कैलालीमा दुई र कञ्चनपुरमा एक गरी तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।  कैलालीमा संक्रमण पुष्टि भएकी महिला देशभित्रै संक्रमण पुष्टि हुने पहिलो महिला थिइन्। उनलाई दुबईबाट आएका आफ्नै देवरबाट संक्रमण भएको भेटिएको छ। कैलालीको यो घटनालगत्तै स्वास्थ्य मन्त्रालयले नेपाल कोरोना भाइरस संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको जनाएको थियो।