इटहरीः भारतमा प्रतिदिन कोरोना( कोभिड १९ ) को बढ्दो संक्रमणसंगै प्रदेश नम्बर १ का ३ जिल्लाका भारतीय सीमा क्षेत्रमा थप कडाई गरिने भएको छ । कोरोना भाइरससंगै लिएर आएका मानिस प्रवेश गर्न सक्ने भएकाले सीमा क्षेत्रमा थप कडाई गरिने भएको हो ।
सुनसरी, मोरङ र झापा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सोमबार सम्पन्न बैंठकले सीमा क्षेत्रमा हुने आवागमनलाई रोक्न र सीमाक्षेत्रमा निगरानी बढाउन सुरक्षाकर्मीको संख्या समेत थप गर्ने निर्णय गरेको छ । सीमा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गर्ने र जनसहभागिता अभिवृद्धि गर्न ‘प्रहरीको साथी म’ अभियान चलाउने निर्णय बैंठकले गरेको छ ।
बैंठकले सीमा क्षेत्रमा हुने हर गतिविधिमाथि निगरानी गर्ने, सबै प्रकारका तथ्याङ्कहरू अध्यावधिक गर्ने, सूचनाहरू सङ्कलन र आदान प्रदान गर्ने विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक यज्ञ विनोद पोखरेलले बताए ।
भारतमा कोरोना सङ्क्रमण दैनिक रूपमा बढ्ने अवस्था रहेकाले पनि सिमामा थप कडाइ गर्ने विषयमा तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपथ सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख बिच छलफल भएको उनले बताए ।
सीमासँग जोडिएका हर नाकामा अन्य अवस्था भन्दा सुरक्षाकर्मीको सङ्ख्या बढाउने विषयमा समेत छलफल भएको उनले जानकारी दिए । झापामा सम्पन्न बैठकमा जनपथ र सशस्त्र प्रहरीका प्रदेश प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।