इटहरीः भारतको उत्तर प्रदेश राज्यस्थित बागपत जिल्लामा एउटा अस्पतालबाट सोमवार राति भागेका कोरोनाभाइरस सङक्रमित सुनसरी भोक्राह जनताचौंकका ६० बर्षीय बृद्धलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । धार्मिक ज्ञान आदानप्रदानका लागि तबलीगी जमाती समूहसँग भारत गएको शुक्रवार उनमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि उनलाई उत्तर प्रदेशको खेकडास्थित लेभल वान अस्पतालमा भर्ना गरिएको भारतीय प्रहरीले जनाएको बीबीसी नेपाली न्यूजले बताएको छ ।
तर सोमवार राति अस्पतालको झ्यालको सिसा फुटाएर उनी भागेको भन्दै उनलाई खोज्न सघाउन बागपतस्थित प्रहरीले सार्वजनिक सूचना जारी गरेको थियो । बागपतका प्रहरी सुपरिन्टेन्डेन्ट प्रताप गोपेन्द्र यादवले भने, “हामीले १० टोली परिचालन गरेका थियौँ। अहोरात्र काम गर्यौँ र अहिले पनि हामी फिल्डमा नै छौँ।“
“भर्खरै हामीलाई उनी फेला परेको जानकारी प्राप्त भएको छ। ती व्यक्तिलाई हामीले खेकडा क्षेत्रमै रहेको इँटाभट्टा नजिकैबाट नियन्त्रणमा लिएका छौँ।“ उनका अनुसार ६५ वर्षका ती व्यक्तिलाई जिल्ला अस्पतालमा कोभिड१९ को उपचार गरिनेछ । बागपतका प्रहरी प्रमुख यादव भन्छन् “हामी उनी किन भागे भनेर बुझ्न खोज्छौँ। उनी पीडित हुन्, हामी उनको स्वास्थ्यको हेरविचार गर्छौँ।“ “हामीलाई चिकित्सकहरूले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्था ७० प्रतिशत ठीक छ । तर तनाव वा अरू कारणले उनी भागेको हुन सक्छ।“ जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनी भोक्राहका ६५ बर्षीय मुसन मियाँ हुन् ।
भारतबाट फरार भएको जानकारी पाउन साथ सुनसरी प्रहरीलाई समेत भारतीय प्रहरीले खबर गरेको थियो । खबर पाउन साथ सुनसरी प्रहरीले उनको घर भोक्राहमा प्रहरीको एक टोली परिचालन गरेको थियो । सीमा क्षेत्रमा पनि बिषेश निगरानी बढाएको थियो । प्रहरीका अनुसार उनि अस्पतालबाट फरार भएपनि भोक्राह स्थित घर आउन निकै मुस्किल थियो । भारत र नेपालमा पूर्ण रुपमा लकडाउन भएकाले तत्कालै आउन सक्ने संभावना न्यून रहेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी विनोद शर्माले उनलाई भारतीय प्रहरीले फेला पार्नेमा आफुहरु विश्वस्त रहेको बताए । उनले उनलाई भारतीय प्रहरीले फेला नपारेको भए हिड्दै आउन पनि १० दिन जति समय लाग्ने शर्माले बताए । उनले अनावश्यक कुराको पछाडी लागेर त्रसिद नहुने सुनसरीबासीलाई आग्रह गरेका छन् । सत्य तथ्य बुझेर मात्र धारणा बनाउन उनले अनुरोध गरेका छन् ।