भोजपुर: नेपाल सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्काे जिल्ला, एक स्थानीय तहबाट अर्काे स्थानीय तह जान रोक लगाएपछि धेरै पालिका जिल्लाले यस नियमलाई कडाई साथ पालना गर्दै आएका छन् । यसै निर्णयलाई आधार मानि भोजपुरको हतुवागढी गाउँपालिकाले भने सिमा नाकामा अझ कडाईका लागि म्यादि प्रहरी सुरक्षाका लागि राख्ने निर्णय गरेको छ ।
गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै म्यादि प्रहरीका लागि इच्छुकले सम्पर्क गनृ समेत आव्हान गरेको हो । पालिकाको वडा नंं.६ स्थित सुनबालुवा र लामीबगर, वडा नं. ७ को भँगालेटार, वडा नं.९ स्थित मचुवा,सिम्ले र चुहार सिमा नाका छिमेकि जिल्ला धनकुटा र सिधै तराई आवतजावत गर्ने नाकामा पर्छन् ।
तराईबाट एकैदिनमा गाउँपालिका प्रवेश गर्ने भएकाले सुरक्षाका लागि यस्तो नियम लागू गरिएको पालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । उनले भने ‘हाम्रो पालिका भित्र पर्याप्त सुरक्षाको कर्मि नभएकाले हामीले जिल्ला प्रहरी कार्यालय भोजपुरसगँ थप सुरक्षाकर्मि माग गर्यौं तर हामीले भनेबमोजिम पर्याप्त सुरक्षा कर्मि जिल्लामा पनि नभएकाले जिल्ला प्रशासन कार्यालय सगँ स्वाकृती लिई म्यादि प्रहरीको आव्हान गरिएको उनको भनाई छ ।’
उनीहरुलाई पालिका आफैंले सेवा अबधिभर न्युनतम सेवा सुबिधाको समेत ब्यबस्था गरेको छ । यस गाउँपालिकामा भर्ति हुने म्यादि प्रहरीका लागि अनिवार्य वि.स. २०७४ सालको स्थानीय तहमा खटिने म्यादि प्रहरी भएको अथवा नेपाल सरकारको सुरक्षाकर्मिबाट अनिवार्य अबकाश भएको हुनुपर्नेछ । यसका साथै पालिकाले यहि चैत्र २६ गते सम्ममा दरखास्त भर्न पनि अनुरोध गरेको छ ।