इटहरीः कोभिड १९ को संक्रमणका कारण २४ घण्टाको अवधिमा विश्वभरी ७ हजारबढीको मृत्यु भएको छ । विश्वस्वास्थ्य संगठनका अनुसार २४ घण्टाको अवधिमा कोभिड १९ को संक्रमणका कारण विश्वभर ७ हजार २ सय २६ जनाको मृत्यु भएको छ । यो सहित कोरोना संक्रमण शुरु भएयता विश्वभर मृत्यु हुने मानिसहरुको संख्या ९५ हजार ७ सय १४ पुगेको छ ।
चौबिस घण्टाको अवधिमा विश्भर ८४ हजार ९ सय १६ जना कोभिड १९ का संक्रमितहरु थपिएका छन् । योसंगै अहिलेसम्म संक्रमित हुने जम्मा संख्या १६ लाख ३ हजार ४ सय २८ जना पुगेको छ । संक्रमित हुनेको संख्या र मृत्यु हुनेको संख्या प्रतिदिन बढ्दो क्रममा छ ।
कोभिड १९ को संक्रमणका कारण २४ घण्टामा विश्वभर सबैभन्दा बढी अमेरिकाका मानिसको मृत्यु भएको छ । केही बेरअघिको रेकर्ड अनुसार अमेरिकामा १ हजार ९ सय जनाको मृत्यु भएको छ । योसंगै अमेरिकामा मृत्यु हुने नागरिकको संख्या १६ हजार ६ सय ९१ जना पुगेको छ । एक दिनमा संक्रमितको संख्या ३२ हजार ८ सय ५७ जना थपिएका छन् । अमेरिकामा हालसम्म ४ लाख ६८ हजार ५ सय ६६ जना संक्रमित भएका छन् ।
फान्समा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ह्वातै बढेको छ । २४ घण्टाको अवधिमा १ हजार ३ सय ४१ जनाको मृत्यु भएको छ । यो संगै फ्रान्समा मृत्यु हुने नागरिकको संख्या १२ हजार २ सय १० पुगेको छ । फ्रान्समा एक दिनमा ४ हजार ७ सय ९९ जना नयाँ संक्रमित थपिएका छन् । फ्रान्सपछि युकेमा एक दिनमा कोभिड १९ को संक्रमणका कारण ८ सय ८१ ज्ना मानिसको मृत्यु भएको छ । यो संगै युकेमा मृत्यु हुने मानिसको संख्या ७ हजार ९ सय ७८ जना पुगेको छ । स्पेनमा एक दिनमा ६ सय ५५ जनाको मृत्यु भएको छ । यो संगै अहिलेसम्म स्पेनमा १५ हजार ४ सय ४७ जनाको मृत्यु भइसकेको छ । इटालीमा २४ घण्टाको अवधिमा ६ सय १० जनाको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म कोभिड १९ को संक्रमणका कारण १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । एक दिनमा बेल्जियमा २ सय ८३ र जर्मनीमा २ सय ५८ जना मानिसको कोभिड १९ का कारण मृत्यु भएको छ ।