इटहरीः प्रतिदिन कोरोना संक्रमणका कारण छिमेकी राष्ट्र भारतमा संक्रमित हुने र मृत्यु हुनेको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका भारतीय सीमा क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा बनाएको छ । सो क्षेत्रबाट मानिसहरुको आवत जावतलाई बिषेश निगरानी गरि कोरोनाको जोखिम कम गराउन सीमा क्षेत्रहरुका सुरक्षा व्यवस्था कडा पारिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सुनसरीमा मात्रै भारतसँग करिब ६२ किलोमिटर खुल्लासिमा जोडिएका छन् । जसले गर्दा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने ठूलो जोखिम भएकाले ती सिमाक्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
पछि आउन सक्ने जोखिम व्यवस्थापनका लागि अध्ययन गर्न कार्यदल नै गठन गरेको पनि प्रजिअ पौडेलले बताए । उनका अनुसार खुल्ला सिमाका कारण सुनसरीमा भारतमा लकडाउन खुल्दाको अवश्थामा नेपाल प्रवेश गर्ने नेपालीहरुको भिड व्यवस्थापन र कोरोनाको संक्रमण ब्रेक डाउन भएको अवश्थामा घना बस्तीलाई स्थान्तरण गर्ने विषयमा सुरक्षा समिती केन्द्रित रहेको छ ।
भारतमा लकडाउन खुलेको अवश्थामा नेपाल प्रवेश गर्ने करिब १ हजार नेपालीमुलका मानिसहरुलाई सिमानाकामै होल्ड गर्नका सम्भाव्य स्थानहरुको खोजि भइरहेको उनले बताए । सिमानाकाहरुमा भएका विद्यालय, स्वास्थ्य केन्द्रका भवनहरुमा व्यवस्थापन गर्न सकिने तयारी भइरहेको उनको भनाई छ ।
उनले भने, ‘करिब १ हजार जति मान्छेलाई चै होल्ड गरेर राख्न सिमा क्षेत्रका विभिन्न स्कुलहरु छन्, अन्य स्वास्थ्य केन्द्रका भवनहरु छन, ती पुर्वाधारहरुमा राख्न सक्ने र स्वास्थ्य परिक्षण पश्चात मात्रै समुदाय सम्म जान सक्ने गरेर एउटा योजना बनाएका छौं ।’
कोरोनाको संक्रमण जिल्लामा पुरै फैलिदै गएको अवश्थामा पनि घना बस्तीहरुलाई स्थानान्तरण गर्न पनि सम्भाव्य स्थानहरुको खोजि तथा सुरक्षानिकाय, सरकारी कर्मचारीहरुको दायित्व तथा कार्यभारका विषयमा पनि कार्यदल बनाएर प्रतिवेदन पेश गर्न माग गरिएको छ ।
प्रजिअ पौडेलले भने, ‘एकदमै आउटब्रेक भयो, वर्थ सिनारियो भयो भने जिल्लाका अलिक बढी घना बस्ती भएका मानिसहरुलाई अन्यत्र स्थानान्तकरण गर्नु पर्ने भयो भने कहाँ सम्भाव्य ठाउँहरु हुन सक्छन्, जिल्ला भित्रै वा जिल्ला बाहिर ।
त्यस्तो अवश्थामा जिल्ला स्थीत सुरक्षानिकाय र कर्मचारीको दायित्व तथा कार्यभार के के हुन सक्छ भन्ने हिसाबले एउटा कार्यदल बनाएर प्रतिवेदन बुझाउन माग गरेका छौं ।’ सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ४ वटै सुरक्षा निकायको प्रतिनिधीहरु सहितको समिती बनेको उनले जानकारी दिए । सिमानाकालाई झन सुरक्षित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्याम्पहरु स्थापना गरिएको छ । उनका अनुसार सशस्त्र प्रहरीको ९ वटा विओपी मार्फत ३९ वटा पोइन्टमा यो भन्दा अगाडि ड्युटी दिइरहेको अवश्था थियो । अहिले भने ५५ वटा पोइन्टमा ड्युटी तैनाथ गरिएको छ । यस अघिका क्याम्पहरु करिब ६ किलोमिटरको दुरीमा हुन्थे भने अहिले २ देखि अढाई किलोमिटरको दुरएमा सशस्त्रको क्याम्प स्थापना गरिएको उनको भनाई छ ।
नेपाल प्रहरीको थप जनशक्तिलाई सशस्त्र प्रहरीको ग्याप भएका स्थानहरुमा कभरेज गर्ने गरि तैनाथ गरिएको उनले बताए । सुरक्षा निकायले वैदेशिक रोजगारबाट फर्केको सुनसरीका करीब ४ सय १० जनाको तथ्याङ्क निकालेको छ । उनिहरू सबैको सम्पर्क नं. सहितको विवरण संकलन गरीएको र उनिहरू कहाँ कुन अवस्थामा छन्, मातहतको प्रहरीले अनुगमन गरीरहेको प्रजिअ पौडेलले बताए ।