इटहरीः भारतले प्यारासिटामोलबाहेक अरू सबै औषधिको निर्यातमा लगाएको प्रतिबन्ध हटाए पनि ढुवानीको असहजता र कामदार अभावका कारण ती औषधि नेपाल आयात गर्न समस्या देखिएको व्यवसायीहरूले बताएका छन्।
समस्या समाधानका लागि सरकारलाई आग्रह गरिएको र सहज भएमा ती औषधि छिट्टै नेपाल ल्याइने उनीहरूको भनाइ छ।
भारतले निर्यात प्रतिबन्ध हटाएका औषधिहरूमा नेपालमा उत्पादन नहुने जीवनरक्षाका लागि प्रयोग हुने र सीसीयू तथा आईसीयुमा प्रयोग हुने औषधी रहेको बताइएको छ।
कोरोनाभाइरसको सङ्क्रमण विश्वव्यापी रूपमा बढ्दै गएपछि भारतले आफ्नो देशमा उत्पादन हुने २६ प्रकारका औषधिको निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पनि देखियो।
कस्ता अप्ठेरा छन् ?
विभिन्न देशको आग्रहपछि हाल उसले प्यारासिटामोल बाहेकका सबै औषधीको निर्यात माथिको प्रतिबन्ध हटाएको छ। यसबाट उत्साहित नेपाली व्यवसायीहरूले त्यस्ता औषधी आयातको योजना बनाइसकेका छन्।
तर दुवै देशमा लकडाउनको स्थितिमा सामान ल्याउन समस्या देखिएको नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले बताए।
“हामीले आयातका लागि भनेका छौँ। तर भारतमा पनि लकडाउन भएकाले त्यहाँ ढुवानीकर्ताको व्यवस्थापन गर्न अनि सामान बोक्न र झिक्न आवश्यक कामदार जुटाउन समस्या परिरहेको बताइएको छ,“ उनले भने।
मजदुरलाई पासको माग
एउटै प्रकारको औषधि र एउटै व्यवसायीको भएमा मात्रै ढुवानीकर्ताहरूले सहजै ल्याइदिने गरेको अनुभव व्यवसायीहरूको छ।बीबीसी