इटहरीः इटहरी उपमहानगरपालिकाले स्थापना गरेको विपद् राहत कोषमा इटहरी ४ को बगैंचा टोल बिकास संस्थाले ५६ हजार ५ सय ६५ रुपियाँ प्रदान गरेको छ ।
सो संस्थाका अध्यक्ष सुनिल कार्कीले आज इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीलाई रकमको चेंक हस्तान्तरण गरे ।सो रकम बराबरको चेक हस्तान्तरण गर्दा वडाअध्यक्ष चन्द्रप्रसाद भट्टराई पनि सहभागीता रहेको थियो । इटहरीका टोल विकास संस्थाहरु मध्ये उत्कृष्ठ कार्य गर्दै आएको सो टोल विकास संस्थाले कोरोनाको संक्रमणसंगै सरकारले लागू गरेको लकडाउनका बेला श्रमिक वर्ग र अति विपन्न परिवारका सदस्यहरु भोकै बस्न नपरुन भन्ने हेतुले सहयोग स्वरुप इटहरी सरकारले स्थापना गरेको राहत कोषमा सो रकम जम्ममा गरेको अध्यक्ष कार्कीले बताए ।
इटहरी वडा नम्बर ४ मा रहेको संस्थाले इटहरी उपमहानगरले पहिलो चरणमा वितरण गरेको राहत कार्यक्रममा पनि वडा तथा उपमहानगरलाई सहजीकरण गरेको थियो ।कोरोना संक्रमणका कारण आउदा दिनहरुमा थप समस्या पर्न सक्ने तर्फ संकेत गर्दै अध्यक्ष कार्कीले आवश्यक परे टोल बिकास संस्था पुनः यसखालका सहयोग गर्न तयार रहेको बताए ।