इटहरीः इटहरी खानेपानीले इटहरी उपमहानगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई १० लाख ११ हजार रुपियाँ प्रदान गरेको छ । इटहरी खानेपानी उपभोक्ता संस्थाले सामाजिक उत्तरदायित्व,दैनिक भ्रमण भत्ता, बैठक भत्ता र अध्ययन अवलोकन भ्रमण शिर्षकमा विनियोजन गरिएको खर्च कटौतीगरी सो रकम कोषलाई चेंक मार्फत प्रदान गरिएको इटहरी खानेपानी उपभोक्ता संस्था इटहरीका अध्यक्ष रामप्रसाद चौलागाईले बताए । चेंक संस्थाका अध्यक्ष चौलागाईले इटहरीका मेयर द्धारिकलाल चौधरीलाई हस्तान्तरण गरे । चेंक हस्तान्तरण कार्यक्रममा खानेपानी कार्यालयका प्रशान प्रमुख हरिबहादुर कट्वाल, अन्य कर्मचारीका साथै संस्था पदाधिकारीहरु समेतको सहभागीता रहेको थियो ।
यो कोरोना महामारी र संकटमा इटहरीवासीलाई राहतको कुनै कमि हुन नदिनका लागि सहयोग पुर्याउने उद्धेश्यले खानेपानी संस्थाले सो रकम प्रदान गरेको हो । इटहरी सरकारलाई यति ठूलो रकम प्रदान गर्ने संस्थामा खानेपानी संस्था पहिलो समेत बन्न पुगेको छ । कोरोना भाइरसको संक्रमण रोक्न र लकडाउनका बेला श्रमिक वर्ग र अति विपन्न वर्गलाई राहत प्रदान गर्ने बिषयमा इटहरी सरकारले चालेका हरेक कदममा आवश्यक र क्षमताले भ्याएसमम आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने संस्थाका अध्यक्ष चौलागाईले बताए ।
संस्थाका अध्यक्ष चौलागाईका अनुसार खानेपानीको महसुल घटाउने या छुट दिने बिषयमा एक कार्यदल गठन भएको र सो कार्यदलको प्रतिवेदन पछि संस्थाले निर्णय गर्ने पनि जानकारी दिएका छन् ।