धरानः सुक्रबार प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले सुरक्षा निकायका प्रमुखहरुलाई लकडाउन थप कडाई गर्न निर्देशन दिए लगत्तै आज बिहानबाट प्रहरीले थप कडाई गरेको छ । आज बिहानै धरानमा मर्निङवाक भन्दै लकडाउन उलंघन गरि घर बाहिर निस्कने १ सय ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले कोरोना भाइरस संक्रमणको अवस्था र लकडाउनको महत्वका बारे २ घण्टासम्म कक्षा दिएको छ ।
लकडाउनलाइ प्रभावकारी कार्यान्यवनका लागि प्रहरीले सो रणनिति अपनाएको हो । धरानका बिभिन्न वडाहरुबाट पक्राउ गरिएका नगरवासीलाई प्रहरीले धरान १२ स्थित पब्लिक हाइस्कुलको खेलमैदानमा दुई घण्टा राखेर कोरोना सम्बन्धि सचेतना कक्षा दिएर छाडेको छ । तत्काललाई लकडाउन गर्नेलाई त्यसरी नै नियन्त्रणमा लिई कक्षा दिईने प्रहरीले जनाएको छ ।
लकडाउनको उल्लंघन गर्दै बिहान र साँझ घर बाहिर निस्कनेहरुलाई प्रहरीले पक्राउ गर्न थालेको हो । धरानमा लकडाउन ब्यापक उल्लंघन भईरहेको भन्दै प्रहरीले शुक्रबार देखि कडाई गरेको हो ।
शुक्रबार साँझ मात्रै १ सय बढीलाई नियन्त्रणमा लिएर छाडेको थियो । शनिबार पनि विहान झिसमिसे देखिनै नै मर्निङवाक गर्ने १ सय ६३ जनालाई प्रहरीेले नियन्त्रणमा लिई धरान १२ स्थित पव्लिक हाईस्कुलको खेलमैदानमा पुर्याएर २ घण्टा पछि लकडाउन उल्लंघन नगर्ने सर्तमा छाडेको छ ।
धरानका विभिन्न ठाउबाट प्रहरीले नियन्त्रणमा लिएर पब्लिक हाईस्कुलको खेलमैदानमा राखेर दुई घण्टा सम्म कोरोना भाइरस सम्बन्धी जानकारी दिएर छाडने गरेको छ ।
अभियान लकडाउन भरी जारी रहने इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । नियन्त्रणमा लिईएकाहरुलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक हेमराज ओलीले कोरोना भाइरसको जोखिम र यसबारेमा जानकारी दिने गरेका छन् ।
लकडाउन उल्लंघन गर्ने सर्वसाधरणलाई घर जान दिए पनि प्रहरीले नियन्त्रणमा लिएको सवारी साधन भने लकडाउन पछि मात्रै फिर्ता दिने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले बताए । लकडाउन उल्लंघन भएका क्षेत्रहरुमा ब्यापक प्रहरी परिचालन गर्ने अनावश्यक रुपमा घर बाहिर निस्कनेलाई नियन्त्रणमा लिने न्यौपानेले जनाए ।