इटहरीः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले घर भाडामा बस्नेले पनि विद्युत महसुलमा छुट पाउने बताएका छन् ।
उनले खासगरी, सबै ग्राहस्थ ग्राहकलाई छुट दिएको बताए । उनले भने –‘भाडामा बस्नेले सहायक मिटर लिएको त हुन्छ, तर मुख्य ग्राहकको मिटरबाटै अध्ययन गर्ने गर्दा रहेछौँ । त्यसमा १५० यूनिटमा २५ प्रतिशत छुट त पाउने नै भए । त्योभन्दा बढीको हकमा नपाउने भयो । घरबेटीले थप चार्ज लगाउने अवस्था छ, त्यो गर्न पाइँदैन । त्यो हामीले कानूनी विषय नै बनाउँछाँै ।’अवैध रुपमा त्यसरी थप रकम असुल्न नपाइँने उनले बताए । उनले प्राधिकरणले घरधनीलाई जतिमा दिन्छ त्यसमा बढाएर लिने नपाइने बताए । सरकारले दिएको छुट कोठामा बस्नेले पनि अनिर्वाय रुपमा पाउनु पर्ने बताए ।
उनले भने–‘ आगामी दिनमा यसलाई अध्ययन गरेर, अस्थायी वा सब–मिटर दिने गरिएको छ, त्यसलाई पनि हेरेर अलगअलग छुट गर्ने व्यवस्था गर्नुपर्छ भनेर महसुस गरेका छौँ । लाखौँ मान्छे, डेरामा बस्ने अवस्था छ । घरबेटीले छुट पाउने तर जुन वर्गलाई हामीले लक्षित गरेका छौँ, त्यसले नपाउने अवस्था आउन सक्छ । त्यसलाई हामी आगामी दिनमा सामान्य अवस्था आएपछि इन्डक्सन वा विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्ने नीतिका साथ अगाडि बढाउँछौँ ।’
उनले समग्र नीति बनाउँदा हामी त्यसलाई व्यवस्थापन गर्ने बताए । जहाँसम्म इन्डक्सन प्रयोग गर्नेलाई १५० यूनिटसम्मको हकमा केही छुट दिने निर्णय गर्दा केही मानिसले ‘हासी मजाक’ पनि गरेको उनको भनाई छ । उनले भने–‘ मैले वाणिज्य मन्त्रालयसँग कुरा गर्दा हामीसँग कूल ६ हजार बढी इन्डक्सन चुल्हो छ समेत भनेको अवस्था छ । यद्यपी ती चुल्हो बिक्री भइसकेको छ । निजी क्षेत्रसँग झण्डै २० हजार बराबरको इन्डक्सन चुल्हो छ भन्नुभएको छ । मैले त्यो विषय सामाजिक सञ्जालमा राखे । त्यो रातारात एक हप्तामा नै बिक्री भयो । बजारमा झण्डै २० हजारको हाराहारीमा विद्युतीय चुल्हो रहेको थियो, त्यो पनि बिक्री भएको छ ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही चुल्हो ल्याउने तयारी गरिरहेको उनले बताए । उनले निजी क्षेत्रले पनि चुल्हो ल्याउने तयारी गरिरहेको जानकारी दिए । थोरै प्रोत्साहन गर्दा पनि आम रुपमा त्यसको सकारात्मक सन्देश जाँदो रहेछ भन्ने स्पष्ट भएको उनको भनाई छ ।