इलामः कोरोना भाईरसको संक्रमण भारतमा थप बढदै गए पछि लुकीछीपी नेपाल प्रवेश गर्ने र सिमानामा बिभिन्न अवैध गतिविधि बढ्ने भएपछि इलामको नेपाल–भारत सिमा क्षेत्रका ७ स्थानमा शसस्त्र प्रहरीले अस्थायी पोष्ट स्थापना गरेको छ । लकडाउनको समयमा भारतबाट आउनेक्रम नरोकिएपछि सुरक्षा सतर्कताका लागि पोष्ट स्थापना गरिएको हो । भारतसंग सिमाना जोडिएको इलामको रोङ गाउँपालिकाको जिर्मले, सूर्योदय नगरपालिकाको समाल्बुङ्ग, छब्बिसे, हिले, मानेभञ्ज्याङ्ग, माईजोगमाई गाउँपालिकाको मेघमा र सन्दकपुर गाउँपालिकाको जौबारीमा अस्थायी सुरक्षा पोष्ट राखिएको सशस्त्र प्रहरी बल १ नम्बर गण हेडक्वाटर इलामका प्रहरी उपरीक्षक रोशन श्रेष्ठले जानकारी दिए उनले भने ‘सिमा नाकाबाट आएका मानिस क्वारेन्टाईनमा नगईदिए पछि कोरोनाको जोखिम बढ्ने देखियो यो त्रास नहटे सम्म सिमानामा उच्च निगरानी गर्छौ ।’
लकडाउनको समयमा पनि लुकिछिपि नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन् । गत चैत्र १९ गते भारतको सुकिया र मानेभञ्ज्याङबाट भागेर पशुपतीनगर आउँदै गर्दा ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र इलामका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई सँगको समन्वयमा स्वास्थ्य परीक्षण गराई गाउँमा गएर १४ दिन क्वारेन्टाईनमा बस्ने सर्तमा पठाईएको थियो । विहिबार समाल्बुङ हुँदै नेपाल प्रवेश गरेका २ जना नेपालीलाई स्थानियले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएका छन् । झापाका स्थायी बासिन्दा उनीहरुलाई सूर्योदय नगरपालिका र प्रशासनको समन्वयमा पशुपतीनगर क्वारेन्टाइनमा राखिएको छ । यसरी खुल्ला सिमाको फाइदा उठाएर नेपाल प्रवेश गर्नेहरु बढ्दै गएका छन् । जसले कोरोनाको जोखिम बढाउदै लगेको छ ।
इलामको रोङ गाउँपालिका देखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडा सम्मको ५२ किलोमिटर नेपाल–भारत खुल्ला सिमानाको फाईदा उठाउँदै भारतमा काम गर्न, पढ्न र भारतीय नागरिक समेत नेपाल प्रवेश गरिरहेका छन् । यसरी आउनेहरु कुनै स्वास्थ्य परीक्षण नगराउने र क्वारेन्टाईनमा समेत नबस्ने गरेका कारण इलामका सिमावर्ती ग्रामिण क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । प्रहरीले पशुपतिनगर र जौवारी नाकामा कडाई गरेपछि अवैध तरिकाले आउनेहरुको संख्या समेत बढ्दै गएको छ ।
स्थानीय तहका जनप्रतिनिधिले समेत सिमानामा निगरानी गर्दै आएका छन् । माईजोगमाई गाउँपालिकाका अध्यक्ष जित बहादुर राईले शसस्त्र प्रहरीको सिमा पोष्ट स्थापना भएपछि यस्ता अवान्छित गतिविधि रोक्न सहयोग पुग्ने बताए । रोङ गाउँपालिकाका बिभिन्न क्षेत्र भएर भारतबाट आउने क्रम नरोकीए पछि स्थानीय युवाले समेत सिमानामा निगरानी गर्दै आएका छन् । शसस्त्र प्रहरी बल पशुपतिनगर बीओपीका इन्सपेक्टर पवन खड्काले कोरोनाको संक्रमण रोकिएपछि अस्थायी पोष्ट हटाइने जानकारी दिए ।