इटहरीः प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै केही दिन बढ्न सक्ने संकेत गरेका छन् । आज सातै प्रदेशका मुख्यमन्त्रीहरुसंग कोरोना संक्रमण रोगथामका लागि प्रदेशमा भईरहेका काम कार्वाही र हालसम्मको प्रगतिका बिषयमा गरिएको भिडियो कन्फरेन्समा कुरा गर्दै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीको कार्यालय सिंहदरवार पुगरे सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग कुरा गरेका प्रधानमन्त्रीले लकडाउन तत्काल अन्त्य गर्ने योजना नरहेको मुख्यमन्त्रीहरूलाई बताएका थिए। उनले कोभिड १९ परास्त गर्न सामाजिक दूरी कायम गर्नुको विकल्प समेत नभएको बताएका छन् ।
लकडाउन छिट्टै अन्त्य नहुने, सीमामा अझ कडाइ हुने, भावुक कुरा गरेर लापरबाही स्वीकार्य नहुने र संक्रमण फैलिनबाट सबै सचेत हुनु अनिवार्य रहेको स्पष्ट पार्नुभयो। भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै यहाँ लकडाउन खुला गर्ने कुरा हुन सक्दैन। यसमा नरम बनेर लापरबाही नगर्न पनि सबैलाई सचेत गराएको प्रधानमन्त्रीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
अर्को एक प्रशंगमा प्रधानमन्त्री ओलीले सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रष्ट पार्दै सरकार स्वयंले अथोरिटीका साथ काम गरेको हुनाले १५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पारेका छन् । उनले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारिरीक रूपमा तन्दुरूस्त र त्यसवापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताएको थापाले बताए ।
लकडाउनमा प्रशासनिक लापरबाही नगर्न, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने बताएका प्रधानमन्त्रीले केन्द्रबाटै एकरूपताको लागि परिपत्र जारी गरिनेसमेत बताएका थिए। जनतालाई दुस्ख दिन नभई, जनताको जीवनरक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन प्रधानमन्त्रीले आग्रह गरेका थिए। सरसफाईमा ध्यान दिन, माक्स र चस्मा प्रयोग गर्न र पनि उनले आग्रह गर्नुपर्ने बताएको प्रेश सल्लाहकार थापाले जानकारी दिए ।