इटहरीः हालसम्म लकडाउन नै नभएको देश अमेरिकामा कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा बढी मानिसको मृत्यु भएको छ ।
अमेरिकामा अहिले नेपाली समय अनुसार रातको ११ बजेर १५ मिनेट सम्मको रेकर्ड हेर्दा  २० हजार १ सय ३५ जना नागरिकले ज्यान गुमाइसकेका छन् । यसअघि सबैभन्दा बढी प्रभावित भएको इटालीमा अहिलेसम्म सो भाइरसका कारण १९ हजार ४ सय ६८ जना नागरिकले ज्यान गुमाएका छन् ।
कोभिड १९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डोमिटर्स डट इन्फोका अनुसार अमेरिकामा ५ लाख २० हजार ९ सय ९९ जना भन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ । १० हजार ९ सय ४७ बिरामीको अवस्था गम्भिर छ ।
इटालीमा १ लाख ४७ हजार ५ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन्। अमेरिकामा हिजो एकै दिन मात्र कोरोना भाइरसको संक्रमण दुई हजारभन्दा बढीले ज्यान गुमाएका थिए। त्यस्तै अर्को युरोपेली देश स्पेनमा पनि १६ हजार ३ सय ५३ जनाभन्दा बढीको ज्यान गइसकेको छ। स्पेनमा पनि ७ हजार ३ सयभन्दा बढी मानिस गम्भीर अवस्थामा छन्। स्पेनमा १ लाख ६८ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। यी तीन देशमध्ये स्पेनमा सबैभन्दा बढी मानिस उपचारपछि निको भएर फर्केका छन्। स्पेनमा ५९ हजार एक सय ९ जना (यो समाचार तयार पार्दासम्म) उपचारपछि घर फर्किएका विश्व स्वास्थ्य संगठनले बताएको छ।
कोरोना भाइरसको केन्द्र चीनमा भने विगत २४ घन्टामा ज्यान गुमाउनेको संख्या मात्र ३ छ। जहाँ ४६ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै चीनमा १ सय ४१ जना मानिस गम्भीर अवस्थामा रहेको डब्ल्युएचओले जनाएको छ। युरोपको शक्तिशाली राष्ट्र बेलायतमा पनि कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय नाघेको छ। बेलायतमा पछिल्लो केही घन्टमै ९ सय १७ भन्दा बढीको संख्यमा मानिसको मृत्यु भइसकेको छ। पछिल्लो केही दिनयता बेलायत कोरोना संक्रमणको अवस्था भयावह देखिएको छ। बेलायतमा हालसम्म ३ सय ४४ जना मात्र उपचारपछि निको भएका छन्। त्यस्तै अर्को युरोपेली राष्ट्र फ्रान्समा पनि कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ९७ पुगेको छ । फ्रान्समा ७ हजार जना अझै गम्भीर अवस्थामा रहेकाले मृत्युदर अझै बढ्ने निश्चित छ ।