इटहरीः बिरगञ्जको एक जामे मस्जिदमा बस्दै आएका ३ जना भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनिहरुको स्वाब परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।
उनीहरुको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि कोरोना पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो । पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको थियो ।

गत बिहीबार भारतबाट आएका २४ जनासहित संकास्पद ३३ जनाको नमुना परीक्षणका लागि हेटौडास्थित प्रयोगशालामा पठाइएको थियो । ति मध्ये तीन जनाको पोजेटिभ रिपोर्ट आएपछि पुन परीक्षणका लागि टेकुमा पठाइएको थियो ।सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । मार्च ४ तारिकमा रिटर्न ट्रेन टिकेट भए पनि लकडाउनका कारण उनीहरु रोकिएका थिए ।

वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरु शुक्रबारदेखि नै नारायणी अस्पतालको आइसोलेसनमा छन् । संक्रमण पुष्टि भएकामध्ये २ जना उत्तरप्रदेश र एक जना दिल्लीमा बस्दै आएका थिए । उनीहरु १३ दिनदेखि वीरगञ्ज–२ छपकैयास्थित जामे मस्जिदमा आएको स्थानीयले बताएका छन् । उनिहरु सप्तरी हुदै बीरगञ्ज आएकाले उनिहरुबाट अन्य धेरैलाई संक्रमण सरेको हुन सक्ने बताइएको छ । उनिहरुले यात्रा गरेका स्थान र उनिहरुको सम्पर्कमा आएकाहरुको खोजी कार्य थालिएको बताइएको छ । उनिहरुको सम्र्पकमा आएकाहरुको पनि तत्कालै स्वाब परिक्षण गरिने मन्त्रालयले जनाएको छ ।

 २४ जना मध्ये दुईजनाको रिर्पोट शंकास्पद देखिएको जानकारी आएपछि अस्पतालले उनीहरुलाई मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको हो। हेटौंडाको कोरोना परिक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो ।

स्थानीयका अनुसार विगत ९, १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए। बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए । नाम उल्लेख नगर्ने शर्तमा नारायणी अस्पतालका एक चिकित्सक भन्छन् । ‘उनीहरुले दिएको सूचना सहि नहुन् पनि सक्छ, प्रहरीले अनुसन्धान गर्न जरुरी छ।’ तीनजनालाई आइसोलेसनमा राखेदेखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सर्तकता अप्नाएका छन्।