इटहरीः वीरगञ्जमा जामे मस्जिदमा बसेका तीन भारतीय नागरिकमा कोरोना संक्रमणको पुष्टि भएपछि वीरगञ्ज प्रशासनले भारतबाट आएका थप २६ जनालाई क्वारेन्टानइनमा राखेको छ।
वीरगञ्जको छपकैया र घुसुकपुरका मस्जिदमा रहेका २६ जनालाई शनिबार राति सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख एसपी गंगा पन्तले जानकारी दिएकी छन् ।
तीन जनालाई कोरोना पोजेटिभ देखिएको खबर भने प्रहरीलाई शनिवार साझनै दिइएको थियो । खबर पाउन साथ प्रहरीले ती मस्जिदहरुमा रहेका भारतीयलाई नियन्त्रणमा लिएर तत्कालै क्वारेन्टाइनमा लगेको हो।

एसपी पन्तका अनुसार क्वारेन्टाइनमा पठाएकामध्ये ४ जना नेपाली र २२ भारतीय नागरिक हुन् । यसअघि छपकैयाको मस्जिदमा बसेका २४ जनामा कोरोना छ कि छैन भनेर स्वाब परीक्षण गरिएको थियो। तीमध्ये तीन जनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ । उनीहरूलाई अहिले नारायण उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ। यी भारतीय नागरिकहरू कहिले नेपाल आएका थिए र उनीहरू नेपालमा कहाँकहाँ गए भन्ने अनुसन्धान थालिएको एसपी पन्तले जानकारी दिइन्।