इटहरीः भारतबाट आएका तीन व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएपछि विदेशी नागरिकहरू भित्रिएका जिल्लाहरूमा थप सतर्कता बढाइएको छ । वीरगञ्जका जामे मस्जिदमा बसेका ३ भारतीय नागरिकको स्वाब परिक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो ।
२१ जना मध्ये ३ जनालाई कोरोना पोजेटिभ देखिएपछि विदेशी प्रवेश गरेका अन्य जिल्लामा थप सतर्कता बढाइएको हो । सुनसरीमा पनि सीमावर्ती क्षेत्रबाट भारतीय र पाकिस्तानी नागरिकहरु विभिन्न मितिमा प्रवेश गरेका थिए । प्रहरीले खोजी गर्ने क्रममा सुनसरीको हरिनगराको मस्जिदबाट १५ जना भारतीय, इटहरीको मस्जिदबाट ७ जना पाकिस्तानी र दुहबीको मस्जिदबाट ११ जना पाकिस्तानी फेला पारेको थियो ।
उनीहरू सबै मुस्लिम समुदायका हुन् । तर सुनसरीमा भित्रिएका यी विदेशी नागरिकहरू भने लकडाउन जारी भएको दुई महिना अगावै आएको प्रहरीका््े भनाई छ । ३३ जनालाई अहिले पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको निगरानीमा विभिन्न मस्जिदको क्वारेन्टाइनमा राखिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए ।
त्यस अलावा खाडी मुलुकबाट हवाई मार्ग हुँदै सुनसरी भित्रिएका ३९३ जनाको पूर्ण विवरण जिल्ला प्रशासन कार्यालय सुनसरीले राखेको छ । उनीहरूको पनि प्रत्यक्ष निगरानी भइरहेको पौडेलले बताए ।
विदेशबाट सुनसरी आएका सबैको कोरोना परीक्षणबाट रिर्पाेट नेगेटिभ छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार सुनसरीमा हालसम्म आएका विदेशी नागरिक र विदेशबाट आएकाहरूबाट कुनै खतरा नभएको बताए । यस्तै ६२ किलोमिटर लामो सुनसरीको सीमा क्षेत्र अत्यन्त कडा बनाइएको कारण भारतबाट नेपालमा हुने घुसपैठ पूर्ण रूपमा रोकिएको उनले बताए ।
हाल सिमाना सशस्त्र प्रहरीको नयाँ ५० वटा बोर्डर आउट पोस्ट र जनपथको १५ वटा पोस्ट थप गरेर सीमा सुरक्षामा कडा बनाइएको प्रजिअ पौडेलले जानकारी दिए । अहिले सीमा सुरक्षामा खटिने सुरक्षाकर्मीको सङ्ख्या समेत बढाइएको उनले बताए ।