इटहरीः सुनसरीको बर्जु गाँउपालिकाबाट प्रहरीले नियन्त्रण लिएका ११ भारतीय नागरिक सहित १२ जनालाई इटहरीको क्वारेन्टाइनमा ल्याइएको छ ।
बर्जुको मस्जिदमा धार्मिक कार्यक्रमका लागि मार्च ५ मा नेपाल आएका ११ जना मुस्लिम समुदायका धार्मिक गुरुहरु र एक उराँव समुदायका व्यक्तिलाई हिजो प्रहरीले बर्जुको एक मस्जिदबाट नियन्त्रणमा लिएको थियो ।
उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिई स्वाब परिक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । धरानमा उनिहरुको ज्वरो परिक्षण गर्नुका साथै स्वाब लिएर फुस्रे स्थित नेपाली सेनाको क्वारेन्टाइनमा पठाइएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. अशोक ऐरले बताए । डा. ऐरका अनुसार उनिहरुको स्वाब लिने काम भएको र रिर्पोट आउन बाँकी रहेको छ ।
उनले भने –‘प्रहरीले लिएर आएका १ नेपाली सहित १२ जनालाई आवश्यक प्रकृया पुरा गरि स्वाब लिने काम गर्यो । कम्तीमा उनिहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्नु पर्ने हुनाले फुस्रे पठाएका थियौं । तर के कति कारणले इटहरी पठाइयो जानकारी आएको छैन् ।’
उनिहरुलाई प्रहरीले रातको करिब साढे १२ बजेको समयमा इटहरी उपमहानगरले जनता बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याइपुर्याएको इटहरी उपमहानगरकी उपमेयर लक्ष्मि गौतमले बताइन् । उनिहरुको रेकर्ड राख्दा र आवश्यक खानेकुराको व्यवस्थापन गर्दा रातको साढे १ बजेको उपमेयर गौतमले बताइन् । उनिहरुको स्वाब मात्र लिने काम भएकाले १४ दिनसम्म स्वास्थ्यकर्मीहरु र प्रहरीको उच्च निगरानीमा क्वारेन्टाइनमा राखिने उपमेयर गौतमले बताइन् । त्यसपछि पुनः स्वाब लिएर कोरोना संक्रमण भए नभएको चेंक गरिने उनले जानकारी दिइन् ।
उनले भनिन् –‘इटहरी ट्राजिन्ट पोइन्ट भएकाले धेरै तिरबाट मानिसहरुको आवत जावत हुने भएकाले बिषेश सावधानी अपनाउनु पर्ने भएको छ ।’उनले तेस्रो मुलुकबाट भन्दा पनि पछिल्लो समय छिमेकी मुलुक भारतबाट आएकाहरुबाट बढी खतरा बढेकाले उनिहरुलाई बिषेश निगरानी गर्न आवश्यक रहेको बताइन् ।