इटहरी: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय प्रधानमन्त्रीले गरेका छन् ।

नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् ।

आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

उनले कोरोनाविरुद्धको संघर्षमा मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति आभार प्रकट पनि गरेका छन् ।

यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशले एक वर्षको पारिश्रमिक नलिने घोषणा गरेका छन् ।

उनले सोमबार आफ्नो एक वर्षको पारिश्रमिक मध्ये दुई महिनाको तलब कोभिड १९ उपचार तथा राहत कोषमा र बाँकी १० महिनाको तलब विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गरेका हुन् ।