इटहरीः लकडाउनलाई कडाइ गर्ने नाममा आइतवार बेलुका गाँउ पसेका शसस्त्र र जनपथ प्रहरीले स्थानीयलाई जथाभावी कुटपिट गरेको स्थानीयले आरोप लगाएका छन् । प्रहरीको लाठ्ठी चार्जबाट स्थानीय १० जना घाइते भएका छन् ।
बेलुका करिब ७ बजेको समयमा सुन्दरहरैंचा ६ पूर्व फिमरा, बाँसबारी र तिनपैनी क्षेत्रमा हातमा लाठ्ठी बोकेर आएका शसस्त्र र जनपथ प्रहरीले जथाभावीरुपमा स्थानीयलाई कुटपिट गरेका हुन् ।
अनुसन्धान नै नगरि लकडाउनमा घर बाहिर किन निस्किएको भन्दै आपत परेर खाद्यन्नको समान र औषधी खरिद गर्न हिडेकालाई कुटपिट गरेको स्थानीयले दावी गरेका छन् । प्रहरीले खेतबारीमा काम गरेर घर फर्किदै गरेका किसानहरुलाई समेत कुटपिट गरेको उनिहरुले बताएका छन् । कुटपिटमा उत्रिएका प्रहरीलाई आफुहरुकै नेतृत्वमा केही दिनअघि मात्र प्रहरीलाई क्लबको तर्फबाट पिउने पानी वितरण गरेको कुटाई खाने युवाहरुले बताए । 
प्रहरीको लाठ्ठी खाएका स्थानीय एक युवाले भने –‘म आफ्नो घरको आँगनमा बसिरहेको थिए । एक्कासी भ्यानमा आएका प्रहरी भटाभट भ्यानबाहिर आएर अन्धाधुन्ध लाठ्ठी बर्षाउने काम गरे । आफ्नै घरको आँगन सिकुवामासम्म बस्नै नहुने भन्ने कुरा त नहोला । कोरोना भाइरसको फैलदो संक्रमण र लकडाउनका बिषयमा सबै जानकार छौं, हामी तर कुनै नबुझी प्रहरीले जथाभावी कुट्न मिल्छ ?’

प्रहरीले महिला, केटाकेटीहरुलाई पनि जथाभावी कुटपिट गरेको स्थानीयले आरोप लगाए । प्रहरीले स्थानीयलाई घर घरमा प्रवेश गरि कुटपिट गरेपछि आक्रोशित स्थानीयले तत्कालै सोही वडाका वडाअध्यक्ष जीवन राईलाई फोन गरेर जानकारी गराएका थिए । वडा अध्यक्ष राईले भोलि वडा कार्यालय आउनु भनेका थिए ।
वडा नम्बर ६ का अध्यक्ष राईले केही युवाहरु प्रहरीले अन्धाधुन्ध घरबाहिर बसिरहेको बेला कुटपिट गरेको भन्दै सोमबार(आज) बिहान १० बजे वडा कार्यालय आएको बताए । वडा कार्यालय आएका युवाहरुले निलडाम पनि आफुलाई देखाएको उनले बताए ।
निलडाम नै बस्ने गरि कुट्नु भन्दा सम्झाई बुझाई गर्नु पर्नेमा के कति कारणले प्रहरीले त्यसरी कुटपिट गरेका हुन ? भन्ने बुझ्न गछियामा रहेको जनपथ प्रहरीका सईलाई वडा कार्यालयबाटै आफुले फोन गरेको राईले बताए । सईले अन्धाधुन्ध कुटपिटमा जनपथ प्रहरीले नगरेको सो स्थानमा शसस्त्र प्रहरीले गरेको जवाफ दिएको वडा अध्यक्ष राईले बताए । पछि शसस्त्र प्रहरीलाई बुझ्दा हामीबाट होइन, जनपथबाट भएको हो भन्ने जवाफ आएपछि नगरपालिकाका मेयर साबलाई घटना बारे जानकारी गराएको वडा अध्यक्ष राईले बताए । मेयरले घटनाबारे सबै जानकारी लिएको र त्यसरी जथाभावी गाँउ र घरमा प्रवेश गरेर बिना कारण कुटपिट गरेको भए दुवै प्रहरीका स्थानीय प्रमुखहरुसंग कुरा राख्ने आश्वासन दिएको वडा अध्यक्ष राईले बताए । मेयरले भनेका सबै कुरा पिडित युवाहरुलाई जानकारी गराएपछि वडा कार्यालयबाट घरतर्फ गएको उनले बताए । उनले भने–‘ गाँउघरमा लकडाउनको पालना अलिक फितलो भएकै छ । तर सम्झाई बुझाई गर्नु पर्ने ठाँउमा त्यसरी कुटपिट नै गर्नु चाँही उचित होइन, केटाहरुले निलडाम बस्ने गरि प्रहरीबाट कुटाई खाएको चाँही सत्य हो ।’

92677006_886221671849671_3501745917998923776_n

वडा अध्यक्षले घटना बारे फोन मार्फत जानकारी गराएपछि आफुले शसस्त्र र जनपथ प्रहरीका प्रमुखहरुसँग कुराकानी गरेको सुन्दरहरैंचाका मेयर शिबप्रसाद ढकालले बताए । प्रहरी प्रमुखहरुले स्थानीयले भने अनुसार प्रहरीले जथाभावी कुटपिट कसैलाई नगरेको जवाफ दिएको ढकालले बताए । वडा नम्बर ५ पूर्व फिमरामा करिब १५ जनाको समूहमा युवाहरु भेला भएका र सम्झाउदा प्रहरीसंगै मुखलागेपछि धपाउने काम मात्र भएको जानकारी प्रहरी प्रमुखले आफुलाई दिएको मेयर ढकालले बताए ।
कोरोना संक्रमणले विश्वनै आक्रान्त पारेको छ । नेपाललाई कोरोनाको संक्रमणबाट जोगाउन तीन तहकै सरकार लागि परेको छ । देश पूर्ण लकडाउनमा छ । यो बेला सबै नागरिकले यसको महत्व बुझ्नु पर्ने मेयर ढकालले बताए । अनावश्यक रुपमा भेला हुने हो हल्ला गर्ने समय होइन, अहिले । अहिले त सबैले लकडाउनलाई पूर्ण पालना गरि सहयोग गर्नुपर्छ । उच्च मनोबलका साथ नागरिकको सुरक्षामा खटिएका प्रहरीलाई साथ दिनु पर्नेमा मेयर ढकालले जोड दिए । नागरिकको सुरक्षाका लागि खटेका प्रहरीले पनि ध्यान पुर्याएर आफ्नो कर्तव्य पुरा गर्नु पर्ने मेयरको भनाई छ । उनले शहर बजारका लागि मात्र सरकारले लकडाउन गरेको जस्तो बुझाइका कारण गाँउ गाँउ अझैपनि मानिसहरु घर बाहिर निस्कने गरेको बताए । उनले भने –‘हामीले विपन्न, श्रमिकहरुलाई घर घरमै खाद्यान्नका सामाग्रीहरु पुर्याएकै छौं । अनि केका लागि घर बाहिर निस्कने । कोरोना भाइरसले गाँउ शहर त भन्दैन त । यो कुरा आम नगरवासीले राम्रोसंग बुझ्न जरुरी छ ।’
उनका अनुसार सुन्दरहरैंचा ५ बाट प्रहरीले सोमबार पनि २५ जना भन्दा बढी भेला भएर फुटबल खेलिरहेका युवाहरुलाई लखेट्ने काम गरेको बताए । आफै धेरै पटक वडाहरुमा जाँदा धेरैको संख्यामा भेला भएर कुराकानी गर्ने कार्य जारी राखेको पाएको मेयर ढकालले बताए । त्यसो गर्नु आफ्ना, आफ्ना परिवार र देशका लागि हालको परिस्थितीमा धातक हुने उनले बताए ।

92706145_220880525805394_6023155294303944704_n