इटहरीः लकडाउनको समयमा आफन्तलाई भेटेर घर फर्कदै गरेकी एक १७ बर्षीया किशोरी गएराती बलात्कारको शिकार भएकी छन् । उनलाई ४ जनाको समूहले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । कैलालीको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । किशोरीको उजुरी र हुलियाका आधारमा प्रहरीले बलात्कारमा संलग्न ४ जनालाई नै पक्राउ गरेको छ ।
आफन्तलाई भेटेर घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेपछि खोजतलासका क्रममा ४ जनालाई पक्राउ गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएस्पी दक्ष बस्नेतले बताए ।
बलात्कृत किशोरीले ४ जनाले आफूमाथि कुटपिट गर्दै सामूहिक बलात्कार गरेको बयान दिएकी डिएस्पी बस्नेतले बताए । घटनामा संलग्नको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको छ । धारिलो हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमध्ये दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेको बस्नेतले जनाए । पक्राउ परेकालाई अदालतबाट म्याद थप गरि अनुसन्धान थालिसकेको र किशोरीको स्वास्थ्य परिक्षणका लागि अस्पताल लाने काम भएको डिएस्पी बस्नेतले बताएका छन् ।