इटहरीः लकडाउनको मौका छोपि बेलबारी क्षेत्रका केही व्यवसायीहरुले दैनिक उपभोग्य बस्तुहरुको मूल्यबृद्धि गरेको गुनासोका आधारमा बुधबार बेलबारी नगरपालिकाले बजारको अनुगमन गरेको छ ।
जनस्तरबाटबाट दैनिक उपभोग्य सामग्रीहरुको बिक्रीमा केही व्यवसायीहरुले अस्वभाविक मूल्यबृद्धि गरेको भनी निरन्तर गुनासो आएकाले नगरभित्रका विभिन्न खाद्यान्न पसलहरुको निगरानी एवम् छड्के अनुगमन गरिएको बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी( तरा) पराजुलीले जानकारी दिएकी छन् ।
उपमेयर पराजुली सहितको नगरपालिकाको अनुगमन टोलीले बजार क्षेत्रका पसलहरुमा अनुगमन गरिएको हो । राष्ट्रिय विपत एवम् महामारीको समयमा सबै नागरिकहरु एकजुट भएर विपत्तिको सामना गर्न तयार हुनुपर्ने बेलामा केही व्यवसायीहरु भने कमाउ धन्दामा लागेर कृत्रिम अभाव सृजना गर्नुका साथै चर्को मूल्यवृद्धि गरेको अनुगमनका क्रममा पाइएको उपमेयर पराजुलीले बताइन् । संकटका बेला कृत्रिम अभाव सृजना गर्ने र चर्को मुल्यबृद्धि गर्ने पसलहरुलाई बन्द गराईने उपमेयर पराजुलीले जानकारी दिएकी छन् ।