इटहरीःवीरगञ्जमा भेटिएका कोरोना पोजेटिभ भेटिएका तीन जना भारतीय नागरिकबाट सुनसरीमा कुनै खतरा नभएको सुनसरी प्रशासनले दावी गरेको छ ।
ती नागरिकहरु दिल्ली–जोगवनी ट्रेन मार्फत विराटनगरवाट सुनसरी हुँदै दुई महिना अघि नै सप्तरी पुगेका कारण सुनसरीमा उनीहरूबाट कुनै सङ्क्रमण नफैलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले दावी गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी पौडेलले भने–‘उनीहरू २०१९ डिसेम्बर १७ देखि नेपाल भित्रै थिए । सप्तरीको इस्तिमामा २०२० फेब्रुअरी १४ देखि सहभागी भएपछि उनिहरु सुनसरी नफर्किएको कारण सुनसरीमा कुनै जोखिम देखिएन’ ।
सुनसरीको दुहबी र इनरुवामा बस्दा उनीहरूमा कुनै त्यस्तो कुनै लक्षण देखिएको थिएन । पछि सप्तरीबाट वीरगंज पुगेपछि मात्र उनीहरूमा कोरोनाको लक्षण देखा परेको हो । १४ जनाको समूहमा रहेका उनीहरू सप्तरीको इस्तिमा सकेर कोरोना पोजेटिभ देखिएका मध्ये दुईजना भने दिल्ली पुगेर फर्किएको कारण उनीहरू उतैबाट सङ्क्रमित भएर फर्किएको हुन सक्ने प्रजिअ पौडेलको भनाई छ ।
‘सप्तरीबाट उनिहरु वीरगञ्ज पुगेपछि दुईजना दिल्ली गएको देखिन्छ, यसबाट हामी आत्तिनु पर्ने अवस्था छैन’ । भारत दिल्लीका ४५ वर्षीय, भारत उत्तर प्रदेशका ५५ वर्षीय र भारत दिल्लीकै ३७ वर्षका उनीहरूमा कोरोना भाइरस (कोभिड(१९) सङ्क्रमण भएको पुष्टि भएसँगै उनीहरूको ‘ट्राभल हिस्ट्री’ सुनसरीसँग जोडिएको कारण सुनसरी प्रशासनले उनीहरूको अनुसन्धान गरेको थियो ।