बेलबारीः बेलबारी नगरपालिकाको वडा नम्बर ७ का वडा सचिव वडा कार्यालयमै कुटिएका छन् । उनी सरकारी कार्यालयकै कर्मचारीबाट कुटिएका हुन् ।

प्रहरी चौकी बाहुनीको कम्पाउण्डभित्रै वडा सचिव उमेश खनाल कुटिएका हुन् । शहरी विकास कार्यालय विराटनगरका लेखा अधिकृत मदनबहादुर कार्कीले खनालमाथि हातपात गरेको बताइएको छ । छोराको जन्मदर्ताको प्रतिलिपि लिन वडा कार्यालयमा आएका लेखा अधिकृत कार्कीले आफूलाई हातपात गरेको खनालले बताए ।

बेलबारी नगरपालिका वडा नम्बर ७ को कार्यालय र प्रहरी चौकी सँगै रहेको छ । एउटै कम्पाउण्डमा २ वटा कार्यालय रहे पनि वडा सचिव सरकारी कार्यालयकै कर्मचारीबाट कुटिनु लज्जास्पद भएको स्थानीय बताउँछन् ।

‘म कार्यालय समयमै आएर काम गर्दै थिएँ’, वडा सचिव खनालले भने, ‘केही समयपछि १ जना सेवाग्राही छोराको जन्मदर्ताको प्रतिलिपि दिनुप¥यो भन्दै आए । उनको कुरा सुनेपछि तपाईंको वडा नम्बर ९ मा स्रेस्ता छ भनेर पठाएको थिएँ । तर केही बेरमा आएर उनले हातपात गरे ।’
आफूलाई वडा नम्बर ९ मा पठाएर किन दुःख दिएको भन्दै उनले गाली गरेको र आफू कार्यकक्षबाट बाहिर निस्किएपछि आफ्नो कपडामा समातेर कार्यालयको भित्तातिर धकेलेको खनालले बताए ।

आफू भागेर कर्मचारीको कार्यकक्षमा गएपछि थप हातपात नभएको उनले बताए । ‘म तँभन्दा ठूलो कर्मचारी हुँ’ भन्दै कार्कीले हातपात गरेको खनालले बताए ।

खनाललाई धकेलेको हुँः कार्की
विवादमा मुछिएका कार्कीले आफूले खनाललाई धकेलेको स्वीकार गरेका छन् । तातो घाममा वडा सचिवले कुदाएर दुःख दिएको समेत उनले आरोप लगाए । ‘वडा नम्बर ९ मा जा भनेर गएँ । त्यहाँ जाँदा वडा सचिव रहेनछन्,’ कार्कीले भने, ‘वडा नम्बर ७ बाटै तेरो काम हुन्छ भन्दै पठाए । वडा नम्बर ७ मा आउँदा वडा सचिव खनालले काम नगरेका कारण भनाभन हुँदा ठेलाठेल भएको हो ।’

दोषीलाई कारवाही गर्नुपर्छः प्रशासकीय अधिकृत
बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले वडा सचिवमाथि भएको हातपातको घटनाका दोषीलाई कार्वाही हुनुपर्ने बताएका छन् । ‘कर्मचारीले काम गर्दा ढिलासुस्ती गरे माथिल्ला निकायमा उजुरी गर्नुपर्छ’, उनले भने, ‘तर सरकारी कार्यालयकै कर्मचारीले हातपात गर्नु लज्जास्पद हो ।’

वडा नम्बर ७ का अध्यक्ष चेतबहादुर बस्नेतले आफू कार्यालयभन्दा बाहिर भएको बताएका छन् । वडा कार्यालयमै आएर कर्मचारीमाथि भएको दुव्र्यवहार सुन्दा पनि लाज लाग्ने खालको भएको र दोषीलाई कारवाही हुनुपर्ने उनले बताए ।
यता, इलाका प्रहरी कार्यालयका प्रमुख रामकुमार राईले पीडितले उजुरी हालेपछि कानुनी कार्वाही अगाडि बढाइने बताएका छन् ।