कञ्चनपुरः कृष्णपुर नगरपालिका ४, नमुना सामुदायिक वन क्षेत्रबाट प्रहरीले भरुवा बन्दुकसहित ५८ वर्षीय मोहनबहादुर साउदलाई पक्राउ गरेको छ ।
सामुदायिक वनमा शंकास्पद अवस्थामा भरुवा बन्दुकसहित हिँड्दै गरेका कैलालीको गोदावरी नगरपालिका ११, कालिका टोलका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जानकारी दिए । बन्दुकसहित पक्राउ परेका साउदलाई हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
गोरुगाडासहित काठ बरामद
यसैबीच इलाका प्रहरी कार्यालय गुलरियाको गस्ती टोलीले आज लालझाडी गाउँपालिका ४, देखतभुलीको ग्राभेल सडकमा बेवारिसे अवस्थामा रहेको एक हल गोरु र गोरु गाडामा राखेको सालको गोलिया एक थान र एक थान आरा फेला पारेको छ ।
बरामद काठ, गोरुगाडा र आरा आवश्यक कारबाही अनुसन्धानका लागि सव डिभिजन वन कार्यालय लालझाडीमा बुझाइएको छ । रासस