भोजपुरः स्वतन्त्र विद्यार्थी यूनियन भोजपुर बहुमुखी क्याम्पसका सभापति प्रकाशसिं राईसहित दुईजना नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका हतियारधारी एक समूहबाट कुटिएका छन् । घटनाको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी नरबहादुर सलामी मगरले पनि पुष्टि गरेका छन् ।
षडानन्द नगरपालिका २ कुदाककाउलेको तल्लो ताबुमा उनीहरूमाथि नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका हतियारधारी समूहबाट आक्रमण भएको हो । कुटपिट भएको जनाउँदै अनेरास्ववियूले विज्ञप्ति निकालेर घटनाको निन्दा समेत गरेको छ । उनिहरुलाई चार दिनअघि रातको समयमा सो हतियारधारी समूहले कुटपिट गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।
स्ववियू सभापति राई र अनेरास्ववियू जिल्ला कमिटी सदस्य उत्तराज खड्कामाथि चन्द समूहका कुदाककाउले घर भएका प्रकाश गुरुङसहितको समूहले कुटपिट गरेको अखिलका जिल्ला संयोजक ध्रुवराज राईले बताए।
आफूलाई कन्चटमा पेस्तोलले हानेको र भागेर नजिकैको प्रहरी चौकीमा आइ घर फर्किएको पीडित राईर्ले बताए। जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डीएसपी नरबहादुर सलामी मगरका अनुसार कुटपिट गर्ने गुरुङ प्रहरीको खोजीको सूचीमा रहेका व्यक्ति हुन्। “यसअघि पनि निकै आपराधिक घटनामा संलग्न भएको हामीसँग रेकर्ड छ। पक्राउका लागि प्रहरी परिचालन गरेका छौं“, मगरले भने। साथीको बिरामी आमालाई घर र्पुयाउने क्रममा जिल्ला प्रशासन कार्यालयबाट पास लिएर गएका उनीहरूलाई राति मोटरसाइकल रोक्न लगाएर कुटपिट गरिएको बताइएको छ ।