धनकुटाः आफ्नै प्रेमीले मोबाइल मार्फत म्यासेज पठाएर अनावश्यक रुपमा टचर दिएका कारण बिबिएस अध्ययनरत धनकुटाको छथरजोरपाटीकी एक १८ बर्षीया युवतीको ज्यान गएको छ । धनकुटाको छथरजोरपाटी १ माक्लुङ्ग हात्तिखर्क घर भएकी १८ बर्षीया वर्षा तामाङको प्रेमी प्रदिप तामाङका कारण अनाहमा ज्यान गएको उनका बुबा सुजन तामाङले बताए ।
धनकुटा बहुमुखी क्याम्पसमा बिबिएस प्रथम वर्षमा अध्ययनरत बर्षा घरबाट बुधबार बिहानबाट एकाएक हराएकी थिइन् । उनि हराएको दिन प्रदिप पनि घर आएको बुबा सुजनले बताए । १२ बजेसम्म घर नआएपछि बुबा आमा सहित गाँउका छिमेकी समेत मिलेर उनको खोजी गरेका थिए । उनि घरकै खेतबारीमा काम गर्दा गर्दै हराएकी थिइन् ।
खोजी गर्ने क्रममा बर्षालाई बिहिबार बिहान आफ्नै घर नजिकैको अम्लिसो घारीमा रहेको दुदिलोको रुखमा झुण्डिएको अवस्थामा फेला पारेको धनकुटा प्रहरीले जनाएको छ । बर्षाका बुबाले घटना शंकास्पद भएको र प्रदिपकै कारण छोरीले ज्यान गुमाएको दावी गरेका छन् ।
आफ्नो छोरी वर्षासँग धनकुटा नगरपालिका वडा नं.२ भिरगाउँका २४ बर्षीय प्रदिप तामाङको प्रेममा रहेको बुबा सुजनले बताए । छोरीकोे मोवाइलको म्यासेन्जरबाट सो कुरा खुलेको उनले बताए । प्रदिपले छोरीको मोबाइलमा अनावश्यक कुरा म्यासेज पठाएर टचर दिएकै कारण उनको ज्यान गएको बुबा सुजनले दावी गरे । उनले घटना आत्महत्या नभई हत्या भएकाले दोषीमाथि अनुसन्धान गरि कडा कानूनी कार्वाही गर्न प्रहरी प्रशासनसंग माग गरेका छन् ।
प्रदिप र आफ्नी छोरी विच मोबाईलमा भएको अडियो र म्यासेन्जरमा भएको कुराकानीबाट उनले ज्यान गुमाउनु मुख्य कारण नै प्रदिपको अनावश्यक टचर भएको बुबा सुजनको भनाई छ । छोरीलाई पठाएको अडियो म्यासेजले सो कुराको पुष्टि हुने् उनले बताए ।
घट्ना शंकास्पद भएकाले प्रदिप तामाङविरुद्ध प्रहरीमा आवश्यक अनुसन्धानको लागि किटानी जाहेरी दिने वर्षाका हजुरबुबा नगेन्द्र स्याङ्गबोले बताए । प्रहरीले घटनाका बारेमा जानकारी पाउनसाथ बर्षाका प्रेमी प्रदिपलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी चौंकी हिलेमा राखेर अनुसन्धान थालिएको छ । घटनाका बारेमा सत्य–तथ्य तत्काल बाहिर ल्याई दोषीलाई कडा कानूनी सजाय दिन बर्षा अध्ययन गर्ने धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतले माग गरेका छन् । उनले आफ्नो क्याम्पसमा बीबीएस् प्रथम वर्षमा अध्ययनरत छात्रा वर्षा तामाङको निधन प्रति दुःख पनि व्यक्त गरेका छन् ।