इटहरीः विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न जारी लकडाउनका कारण लाखौं खर्चिएर किसानले फलाएका तरकारीबाली खेतमै कुहिने भएपछि सुक्रबार बेलबारी नगरपालिकाकी उपमेयर वडा नम्बर ८ का किसानका खेतबारीमै पुगेकि छन् ।
उनको नेतृत्वमा पुगेको जनप्रतिनिधिहरुको टोलीले किसानका समस्या बुझेर तत्कालै समाधान पनि गरेका छन् । नगरपालिकाबाट उपमेयर सहितको टोली खेतबारीमै आएर खेतबारीमै कुहिन लागेको आफुहरुको तरकारी खरिद गरि बजार र नगरबासीको घर घरमा पुर्याउने व्यवस्था मिलाएपछि किसानहरु हर्षित भएका छन् ।
आफूले जिविकोपार्जन र आयआर्जनको एक मात्र स्रोतका रुपमा तरकारी खेती रोजेर मिहिनेत अनुसार राम्रो उत्पादन गरेको तर लकडाउनका कारण बिक्री तथा निकासी ठप्प भएको हुँदा ठूलो समस्या भईरहेको बेलबारी ८ का किसान टीका पराजुलीले बताए ।
आफ््नो नगरभित्रका किसानहरुले दुःख गरेर उत्पादन गरेका उत्पादित वस्तुहरु बिकी तथा निकासाका क्रममा आफूहरू समस्यामा परेको किसानबाट गुनासो आएपछि बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुली सुक्रबार किसानका खेतबारीमा पुगेकी हुन् । गुनासो सुन्न साथ उपमेयर आफैं किसानहरुसंग उनिहरुको अवस्था बुझ्न उनिहरुकै खेतबारीमा पुगेकी थिइन् ।
किसानहरुको गुनासोलाई सम्बोधन गर्न र उनिहरुले उत्पादन गरेका तरकारी कसरी बजारमा ल्याउन सकिन्छ भन्ने उद्धेश्यले खेतबारीमै पुगेर किसानहरुलाइै भेट गरेको उपमेयर पराजुलीले बताइन् ।
उनले किसानहरुको गुनासो सुनेपछि बेलबारी नगर क्षेत्र र नगरका आसपासका ब्यापारीहरुलाई स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेकी थिइन् । उनको आग्रहलाई स्थानीय व्यापारीहरुले तत्काल मानेका छन् । लकडाउनका कारण खेतबारीमै कुहिने लागेका तरकारीहरु व्यापारीहरुले सुक्रबारबाटै किसानहरु खेतबारीमै पुगेर खरिद गरेका छन् । व्यपारीहरुले किसानका खेतबारीमै पुगेर खरिद गरेका तरकारीलाई बेलबारी नगरपालिकाको समन्वयमा नगरवासीका घर घर र बजारमा पुर्याएर बिक्री गर्ने कार्यपनि थालिसकेको उपमेयर पराजुलीले बताइन् ।
आफूहरुले धेरै मिहिनेत र लगानी गरेर उब्जाएको कृषि उपज लगभग माया मार्ने अवस्थामा पुगेको समयमा उपमेयर लगायत केही जनप्रतिनिधिहरु र व्यवशायीहरुको समन्वय सहयोगले किसानहरुलाई ठूलो राहत मिलेको बेलबारी ८ का किसान सन्तोष घिमिरेले बताए ।
उपमेयर पराजुलीका अनुसार बेलबारी ८ मा घिमिरे सहित टीका पराजुली, मङ्गल तामाङ लगायतको समूहले मात्र अडाई लाखभन्दा बढीको लगानीमा टनेल तथा अन्य तरकारी खेती गरेका गर्दै आएका छन् ।