इटहरीः आजबाट थप कडा पारिएको लकडाउन उलंघन गर्ने ९८ जनालाई सुनसरीका बिभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।
शनिवार बिहानदेखी सुनसरीका विभिन्न सडकमा पैदल हिड्दै गरेको अवस्थामा जिल्ला भित्रका ५० जना र बाहिरी जिल्लाबाट सुनसरी आएका ९ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक यज्ञविनोद पोखरेलले बताए ।
उपरिक्षक पोखरेलले घरबाट काम बिना बाहिर सडकमा हिडडुल गर्दै गरेको अवस्थामा सुनसरीका विभिन्न स्थानबाट ३९ जनालाई पक्राउ गरिएको बताए ।
सडकमा पैदल हिड्दै गरेको अवस्थामा नियन्त्रणमा लिएका ३९ जनालाई अस्पतालमा स्वास्थ्य परिक्षण गरि क्वारेन्टाईनमा राखिएको छ । घरबाट काम बिना हिड्डुल गर्नेहरुलाई इनरुवा लगायतका प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरिक्षक पोखरेलले बताए ।
प्रहरी उपरिक्षक पोखरेलले कोरोना सक्रमणको खतरा बढदै गएको पाईएकाले जिल्लाका सवै स्थानमा मानिसहरुलाई घर भित्र बस्न र सडकमा सुरक्षाकर्मी बाहेक कसैलाई पनि आवत जावत गर्न नपाईने गरि कडाई गरिएको बताए ।
उदयपुरको मस्जिदमा १२ जना भारतिय नागरिकहरुलाई कोरोना सक्रमण रहेको फेला परेपछि सुनसरीमा शनिवार बिहानदेखि सुरक्षानिकायले हाइअर्लटमा सुरक्षा परिचालन गरि लकडाउनलाई कडा बनाएपछि सर्वसाधरणहरुको हिड्डुल, सवारीसाधनहरुको आवत जावतमा रोक लगाएपछि लकडाउन उल्लघन गर्ने र सडकमा हिड्नेलाई पक्राउ गर्न थालेको हो । १५ सवारी कार्वाहीमा परेका छन् ।
सुनसरी प्रशासनले वैशाख ६ गतेदेखि ८ गतेसम्म अघोषित कफर््यु सरह सर्वसाधरणहरुलाई घरबाहिर नहिड्न र बजार पसलमा नखोल्न माइकिङ्ग मार्फत शुक्रवार रातीदेखी जानकारी गराएपछि सुनसरीको सडक बजार पसलमा सुरक्षाकर्मी बाहेकको मात्र उपस्थिती रहेको छ । प्रहरीले सुनसरी तर्फ आउने जाने उदयपुर, मोरङ्गर घनकुटाका सवै सिमानाकाहरु पूर्णरूपमा बन्द गरेको छ ।
सम्भावित भिडभाडलाई मध्यनजर गर्दै औषधी पसल बाहेक सबै खाले सेवा तत्कालका लागि बन्द गरिएको उनले बताए । अतिनै अत्यावश्यक अवस्था आएको खण्डमा नजिकको प्रहरीसँग समन्वय गर्न उनले सर्वसाधारणलाई आग्रह समेत गरेका छन् । प्रहरीले विषम परिस्थितिको अवस्थालाई जिल्लावासीले सामान्य रुपमा लिइदिन समेत आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले समेत अर्को सूचना जारी नभएसम्मको लागि जिल्लाभर लक डाउन कडा गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले उदयपुरमा कोरोना संक्रमित भेटिएकाले सुनसरीमा समेत सावधानी अपनाइएको बताए । उनले कतिपय पालिकाहरुमा स्थानीय सरकारले लक डाउनको पालना गराउने सवालमा आफु अनुकुलका निर्णय गर्दै थप कडाइ गरिरहेको समेत बताए ।
सुनसरी प्रशासनले राहत वितरणमा हुने भिडभाडलाई मध्यनजर गर्दै डोर टु डोर मात्रै राहत वितरण गर्न सबै स्थानीय तहहरुलाई आग्रह समेत गरेको छ ।प्रशासनले मस्जिदमा बस्नेहरु सबैलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ । ८१ वटा मस्जिद रहेको सुनसरीमा कोहीपनि आश्रय लिई बसेको भन्ने जानकारीमा नरहेको प्रशासनले जनाएको छ । लुकिछिपी बसेको भेटिए कार्वाही गरिने जनाएको छ ।
प्रशासनले जिल्लाका कुनैपनि मस्जिदमा अश्रय लिई बस्न नपाइने जनाएको छ । उदयपुरमा भेटिएका कोरोना संक्रमितहरु सुनसरीमा समेत बसेको भन्ने सुचनाका आधारमा ट्राभल हिस्ट्री पहिल्याउने काम भैरहेको सुनसरी प्रशासनले जनाएको छ ।