इटहरीः बलात्कार आरोपमा सुनसरीको झुम्कामा रहेको क्षेत्रिय कारागारमा पुर्वपक्षयका लागि थुनामा रहेका कृष्णदास(कृष्णबहादुर गिरी)ले बराहक्षेत्रमा निर्माण गरेको १ सय २७ कोठे भवनलाई प्रदेशकै ठूलो क्वारेन्टाइन बनाउन स्थानीयले माग गरेका छन् ।
कृष्णदास आफ्नै एक अनुयायीलाई बलात्कार गरेको आरोपमा उच्च अदालतको आदेश अनुसार कारागारमा छन् । उनलाई जिल्ला अदालतले बाहिर बसेरै मुद्धा लड्ने अवसर दिएको थियो । उच्चले भने जिल्लाको फैसला उल्टाउदै थुनामा राखेर मुद्धा अघि बढाउने आदेश दिएपछि उनि भारत फरार भएका थिए । भारतबाट करिब १ महिनामा आफै जिल्ला अदलात सुनसरी हाजिर भएका उनलाई प्रहरीले क्षेत्रिय कारागार झुम्कामा पुर्वपक्षका लागि थुनामा राखेको छ ।
उनि बलात्कार आरोपमा कारागार थुनिएसंगै उनले बनाएको सो भवन प्रयोग विहिन भएपछि कसले प्रयोग गर्ने चर्चा पनि भईरहेको छ । चर्चाकै बीचमा स्थानीयहरुले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिरहेको कोरोना आशंका भएकाहरुलाई राख्नका लागि सो भवनलाई प्रदेश नम्बर १ कै ठूलो क्वारेन्टाइन बनाउन माग गरेका हुन् ।
स्थानीयहरुले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई सहित सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै क्वारेन्टाइन निर्माणमा अनावश्यक खर्च गर्नु नपर्ने भएकाले सो भवनलाई प्रदेश एक भरिकै लागि क्वारेन्टाइन घर बनाउन आग्रह गरेको स्थानीय संचारकर्मी विजय राईले बताए ।
उनका अनुसार स्थानीयहरुले कोरोनाको संक्रमणको त्रास फैलिए सँगै भवनमा क्वारेन्टाइन बनाउन स्थानीय सरकार मार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए । तर कतै पनि सुनुवाई नभएको स्थानीयको गुनासो छ । उनले मानव वस्ती देखि पनि टाढा र हाल खाली अवश्थामा रहेकाले प्रदेशको अनावश्यक खर्च गर्नु नपर्ने भएकाले भवन प्रयोग गर्न आग्रह गरेका हुन् । प्राकृतिक वातावरण पनि सफा र स्वच्छ भएकाले भवन उपयुक्त हुने उनको भनाई छ ।
कृष्णदास महाराजले बराहक्षेत्र स्थित चतरा नहरको पश्चिम किनारमा सुनसरी मोरङ सिँचाई आयोजनाको स्वामित्वमा रहेको जग्गामा रामानन्दाचार्य सेवा पिठ परिषरमा अवैधानिक रुपमा भवन निर्माण गरेका थिए । बराहक्षेत्र स्थित चतरा इन्टेक नजिकै १२ विगा ८ कट्ठा १९ धुर जग्गामा २०६४ सालमा अतिक्रमण गरेर १२ वर्ष पछि ८ करोडको लागतमा भवन निर्माण गरेका थिए ।
पानी, विजुली सहितको सुविधा सम्पन्न १ सय २८ कोठे भवनलाई क्वारेन्टाइन घरको रुपमा विकाश गर्न सके राज्यको पैसा पनि बच्ने र सुविधा सहित बिरामीहरुलाई राख्न सकिने स्थानीयको भनाई छ ।
संक्रमण बढे सँगै थप क्वारेन्टाइन् बनाउने लिस्टिङमा १ सय २८ कोठे भवन पनि परेको प्रदेशका आन्तरिक तथा मामिला मन्त्री हिक्मत कार्कीले बताएका छन् । उनले भने, ‘आवश्यक्ता अनुसार त्यो भवनलाई पनि उपयोग गर्न सकिने लिस्टिङमा परेको छ, त्यस तर्फ हामीले सोचिसकेका छौं ।’ वर्तमान अवश्थामा सिमाक्षेत्र हरुमा क्वारेन्टाइन बनाउने तयारी भइरहेकाले त्यही बनाउने भन्ने सोचमा नपुगे पनि आवश्यक्ता परे त्यस स्थानमा पनि क्वारेन्टाइन बनाउन सकिने उनको भनाई छ ।