इटहरीः नेपालका केही स्थानहरुमा धार्मिक कार्यक्रममा सहभागी हुन आएका तब्लीग जमातहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएसंगै देशभरीका मुस्लिम समुदायलाई नकरात्मक दृष्टिले हेर्न थालिएको घटनाप्रति गम्भिर बन्दै मुस्लिम आयोगमा आइतवार भएको सर्वपक्षिय बैंठकले नेपालमा रहेका तब्लीग जमातका व्यक्तिहरुलाई उनिहरुको देश फिर्ता पठाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

त्यसका लागि दुई दिनभित्रमा तब्लीक जमातका अगुवाहरुले देशभरीका कुन कुन मस्जिदहरुमा जमातहरु रहेका छन् ? सोको स्पष्ट तथ्याङ्क संकलन गरि मुस्लिम आयोगलाई बुझाउने समेत भएका छन् ।
आइतवार मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा मुस्लिम आयोग कार्यालय परिसरमा बसेको सर्वपक्षिय बैंठकमा सो निर्णय भएको हो । देशभरीका कुनै मस्जिदमा जमातहरु भेटिए स्थानीय प्रशासनको सहयोगमा मुस्लिम आयोगले उनिहरुको स्वास्थ्य परिक्षण गरि नजिकैको क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय पनि भएको बैठकमा सहभागी पूर्व राज्यमन्त्री मोहम्द जाकिर हुसैनले बताए ।
बैंठकले दुई महिनाको अवधि भित्र कोही व्यक्ति तब्लीक जमातमा गएको भए स्वय्म प्रशासनको सम्पर्कमा आएर आफ्नो स्वास्थ्य परिक्षण गराउन देशभरीका मुस्लिम समुदायका व्यक्तिहरुलाई बिषेश अनुरोध समेत गरेको छ ।

93769442_579938532878540_4845435387264368640_n
बैंठकले देशभरीका मस्जिद र मर्दसामा कुनै पनि किसिमका भीड हुन नदिन र सोको अनुगमन , निगरानी गर्न मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा सात सदस्यीय केन्द्रिय तहको अनुगमन समिति समेत बनाएको छ ।
समितिको सदस्यहरुमा पूर्व राज्यमन्त्री जाकिर हुसैन, सांसद शेख चन्दा तारा, राष्टि मानवअधिकार आयोगका आयुक्त मोहना अन्सारी, मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सत्तार, ओलमा खुर्शीद इस्लाही र खालिद सिद्दीकि रहेका छन् । बैंठकले मुस्लिम बस्ती भएका जिल्लाहरुमा दुई दिनभित्र जिल्ला तहको अनुगमन समिति पनि निर्माण गरिसक्ने निर्णय गरेको छ ।
बैंठकले केही दिनपछि शुरु हुने मुस्लिम समुदायको रमजान एक महिने ब्रतको अवधिमा हुने इफ्तार घरमै गर्न र तराविहको नमाज मस्जिदमा नपढी घरमै पढ्न आयोगले देशभरीका मुस्लिम समुदायलाई आह्रवान समेत गरेको बैंठकपछि आयोगका सचिव शम्भुबहादुर खड्काद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैठकले बिभिन्न समाजिक सञ्जाल र संचारमाध्यमहरुमा मुस्लिम समुदाय बिषेशलाई लक्षित गरि भइरहेको भ्रामक सूचना प्रवाहलाई नियन्त्रण तथा रोकथाम गर्न नेपाल सरकारलाई पत्राचार गर्ने निर्णय पनि गरिएको बैंठकमा सहभागी पूर्व राज्यमन्त्री हुसैनले बताए । बैंठकले कोरोना भाइरस विरुद्ध लड्का लागि देशभरीका मुस्लिम समुदायहरुलाई पनि सहकार्य र सहयोग गर्न आह्रवान गरेको उनले बताए ।