इटहरीः मातेर नालीमा लड्ने धरान उपमहानगरपालिका कार्यालयका सूचना अधिकृत खगेन्द्र खतिवडालाई आवश्यक कार्वाही गर्न मेयर तिलक राईले निर्देशन दिएका छन् । गत मंसिर १४ गतेको उपनिर्वाचनका मेयरका उम्मेद्वार हर्क साम्पाङले खतिवडा लकडाउनका बेलामा नगरवासीको सेवामा जुट्नुको साटो रक्सीले मातेर नालामा लडेको बिषय व्यापक आलोचना भएकाले उनलाई कडा कार्वाह ीगर्न मेयर राईलाई फोन गरि माग गरेका थिए ।
जवाफमा मेयर राईले सूचना अधिकृत खतिवडा मातेर नालीमा लडेको बिषयमा ६ गते साँझ ५ बजेतिर इलाका प्रहरी कार्यालय धरानका डिएसपिले जानकारी गराएपछि चाल पाएको बताएका छन् ।
मेयर राईले फोन संवादमा डिएसपिबाट जानकारी पाउनसाथ धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई सूचना अधिकृत खतिवडा मातेर नालीमा लडेको घटना बारे जानकारी लिनुका साथै स्पष्टिकरण लिन निर्देशन दिएको बताएका छन् । उनले फोन संवादमा भनेका छन् –‘मैले प्रमुख प्रशासकिय अधिकृतलाई फोन गरेर खतिवडालाई केही दिन कार्यालय नआउन निर्देशन दिन समेत भनेको छु । निर्देशन अनुसार आज( बैशाख ७ गते) को उपमहानगर महाशाखाहरुको बंैठकमा खतिवडालाई बोलाउने काम भएन ।’मेयर राईले खतिवडालाई स्पष्टिकरण लिनुका साथै आवश्यक कार्वाही समेत गरिने आश्वासन दिएका छन् ।
जनताले तिरेको करबाट पालिएका कर्मचारीहरुले यस्तो बाटो बाटोमा रक्सी खाएर लड्न नसुहाउने भन्दैं मेयरलाई कारवाही गर्न साम्पाङले सुझाव दिएका थिए । उनले मेयर राईसँग भएको फोन वार्ता सामाजिक सञ्जालमासमेत सार्वजनिक गरिसकेका छन् ।
उनले खतिवडालाई समेत फोन गरी नगरवासीलाई के कति राहत बाँडियो भनी जवाफ मागेका थिए ।खतिवडाले प्रतिउत्तर मलाई थाहा छैन भन्ने जवाफ दिएका थिए । साम्पाङले तपाई नगरवासीको काम गर्न छोडेर रक्सीले मातेर नालीमा लड्नु हुँदो रहेछ कसरी थाहा हुन्छ त ? भनेपछि खतिवडाले फोन काटेका थिए । खतिवडासंग गरिएको फोन वार्ता पनि साम्पाङले सामाजिक सञ्जालमा राखेका छन् ।
    लकडाउनका बेला मान्छे नै नचिन्ने गरि मातेर नालीमा लड्ने खतिवडाले गरेको हर्कत गैर जिम्मेवार भएको संघीय लिम्बुवान मञ्चका सुनसरी अध्यक्ष अमर इजमले प्रतिक्रिया दिएका छन् । उनले पनि खतिवडालाई मेयरले तत्काल स्पष्टिकरण सोधेर आवश्यक कानूनी कार्वाही गर्नु पर्ने माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालले आफुले पनि केही अनलाइनहरुमा हेरेर थाहा पाएको बताए । उनले घटनाका बारेमा प्रहरीसंग पनि बुझेर आवश्यक कदम चाल्ने बताए ।
धरान उपमहानगरका राजस्व, सूचना तथा पर्यटन महाशाखा प्रमुखसमेत रहेका खतिवडा गत बैशाख ३ गते राती मादक पदार्थ सेवन गरेर धरान–८ स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडी लडेका थिए । मोटरसाइकल पम्पच्योर भएर नालीमा लडेका खतिवडा रक्सीले उठ्नै नसक्ने अवस्थामा ट्राफिक प्रहरीले उनलाई नालीबाट उठाएका थिए । उनलाई चिनेका एक प्रहरीले उनलाई घर पुर्याउन खोज्दा उल्टै दुव्यवहार गरेपछि ती ट्राफिक प्रहरीले खतिवडालाई वडा प्रहरी कार्यालय धरान लगेर बुझाएका थिए । भानुचौंकमा रहेको वडा प्रहरी कार्यालयले खतिवडाको छोरा बोलाएर राती नै परिवारको जिम्मा लगाउने प्रयास गरेको थियो । तर, खतिवडाले आफ्नै छोरालाई समेत नचिनेपछि बाध्य भएर उनलाई मापासे चेंक गरि एक रात वडा प्रहरी कार्यालयमै राखेको थियो । ४ बैशाख बिहान प्रहरीले आफन्त बोलाएर खतिवडालाई परिवारको जिम्मा लगाएको थियो । वडा प्रहरी कार्यालयमा उनले अत्याधिक मदिरा सेवन गरेको मेडिकल रिर्पोट सुरक्षित भएपनि खतिवडाले भने नजिकका आफन्त , साथीभाई, कर्मचारीहरुलाई मोटरसाईकल पम्मचर भएर लडेको बिषयमा समाचार बनाइएको र आफु भाइरल भईसकेकाले केही नबोल्नै भन्दै आएका छन् ।