विराटनगरः अदालतमा विचाराधीन बलात्कार मुद्दा मिलाउँछु भन्दै ठगी गरेको आरोप खेपिरहेका नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ मोरङका निवर्तमान सभापति गोपाल सेढाईसहित पाँच जना विरूद्ध जिल्ला अदालत मोरङमा ठगी मुद्दा दर्ता भएको छ ।

ठगी गरेको आरोपमा मोरङका रङ्गेली नगरपालिका– ३ स्थायी घर भई विराटनगर बस्दै आएका ४८ वर्षिय सेढाइसहित पाँच जना विरूद्ध अदालतमा ठगी मुद्दा दर्ता भएको मोरङ जिल्ला अदालतका सहायक जिल्ला न्याधीवक्ता एवं सरकारी वकिलको कार्यालयका सूचना अधिकारी उमेश अधिकारीले जानकारी दिएका छन् ।
अधिकारीका अनुसार जवरजस्ती करणी मुद्दाका ६ जना अभियुक्तका अभिभावकसँग मुद्दा मिलाइदिने भन्दै सेढाईले ७ लाख २५ हजार रुपैयाँ ठगी गरेको अदालतमा पेश गरिएको अभियोग पत्रमा उल्लेख छ । मोरङ प्रहरीले अनुसन्धान प्रतिवेदनसहितको कागजात जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा बुझाएपछि २८ चैतमा अदालतमा माग दाबीसहितको अभियोग पत्र दर्ता भएको अधिकारीले जनाए ।
फरार प्रतिवादी बनाएर नेबिसंघ नेता सेढाई, रंगेली ३ का ३८ वर्षिय नेत्र भट्टराई, सोही ठाउँका ६० वर्षिय मुन्सी टुडु र ४० वर्षिय बिनोदकुमार मुर्मु विरूद्ध अदालतमा ठगी मुद्दा दर्ता भएको हो ।
वैशाख ४ गते पक्राउ परेका श्रीमतलाई मोरङ अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजालशले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । अन्य चार जनाको हकमा पक्राउ पूर्जीसहितको म्याद जारी गर्ने अदालतको आदेश छ ।बलत्कार मुद्दा मिलाउन सेढाईले १२ लाखबाट बार्गे्निङ्ग गरेका थिए ।
धनपालथान गाउँपालिकाकी १५ वर्षीया किशोरीमाथि १५ जेठ २०७५ राति ६ जना युवाले बलत्कार गरेका थिए । रङ्गेली विवाहमा जन्ती आएकी किशोरीलाई बलात्कार गरेको आरोपमा रंगेली नगरपालिका ३ का २० वर्षीय सोरेन भन्ने सुरेन्द्र मरन्डी, सोही ठाउँका २४ वर्षीय तल्लु मर्मु, २३ वर्षीय बबु भन्ने प्रगान सतार, २३ वर्षीय डुडुङ भन्ने सोमलाल हेमरम, २२ वर्षीय बोईलर भन्ने सुनिल मरन्डी र २३ वर्षीय सुरेन्द्र टुडु विरूद्ध अदालतमा मुद्दा दर्ता भएको थियो ।

इप्रका रंगेलीले अनुसन्धान प्रतिवेदनसहितको कागजात जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा बुझाएपछि अदालतमा मागदावीसहित अभियोग दर्ता भएको थियो । सामूहिक बलात्कारको सो घटनामा अदालतले २०७५ जेठ १२ गते प्रतिवादीहरुलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । न्यायाधीश किशोर घिमिरेको इजलाशले गत माघ १९ गते उनीहरुलाई बलात्कार प्रयास गरेको भन्दै जनही ३ वर्ष ६ महिना कैदको सजाय तोकेको थियो ।

पैसा तिरेपछि आरोपीहरु छुट्ने विश्वासमा रहेका आफन्तहरु अदालतले कैद तोकेपछि सेढाईंसँग पुगेका थिए । सेढाईंले उल्टै धम्की दिएपछि उनीहरुले अदालतमा गएर न्यायाधीसलाई भेटेर गुनासो गरेका थिए । अदालतले ठगीमा परेको भए प्रहरीमा जान सुुझाएपछि उनीहरुले जाहेरी दिएका हुन् ।

पुर्पक्षको लागि थुनामा रहेका उनीहरुलाई अदालतमा आफनो पहुँच राम्रो रहेकोले छुटाईदिने भन्दै सेढाईंले रकम असुलेको अभियाग पत्रमा उल्लेख छ । १२ लाख रुपैयाँबाट डिल गरेका सढोईले ७ लाख २५ हजार रुपैयाँ लिएका अभियोगमा उल्लेख छ । छोरा छुट्ने आशामा सोम मरण्डी र बाबुलाल हस्दाले जनही १ लाख ४० हजार, बिक्रम टुडुले १ लाख ६० हजार, साइला मरण्डीले १ लाख ६० हजार,सोम मुर्मूले एक लाख २५ हजार गरी जम्मा ७ लाख २५ हजार रुपैयाँ बुझाएका थिए ।

पैसा बुझाउने अभिभावकका अनुसार सेढाईंले पैसा दिएको विषय कसैलाई नसुनाउन भनेका थिए । घटनामा मुछिएका मरन्डी पक्राउ परेपछि सेढाईं भने फरार छन् । रकम बुझाएपछि आफन्त छुट्ने अपेक्षा गरेका प्रतिवादीका परिवारहरु अदालतले कैद सजाय सुनाएपछि आक्रोशित भएका थिए ।