इटहरीः लकडाउनको मौका छोपी सुनसरीको रामधुनी नगरपालिका ६ स्थित बहत्तर बिगाहको राष्ट्रिय वन क्षेत्रबाट काँचो सखुवाको एक ट्याक्टर काठ तस्करी गर्दा गर्दै सशस्त्र प्रहरीको टोलीले ३ जनालाई पक्राउ गरेको छ । सोमबार राती सखुवा एक ट्याक्टर गोलिया तस्करी गरिरहेको अवस्थामा स्थानीय ३ जनालाई पक्राउ गरिएको हो ।
सशस्त्र प्रहरी वल नेपालको नम्बर ४ गण हेडक्वार्टरका गणपति एवं एसपी कृष्ण ढकालको कमाण्डमा गएको टोलीले उनिहरुलाई रंगेहात पक्राउ गरेको हो । सो वन क्षेत्रमा जंगल फडानी गरि अवैधरुपममा काठतस्करी भईरहेको सूचनाका आधारमा सशस्त्रको प्रहरी टोली परिचालित भएको थियो ।
सशस्त्रको टोलीले सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ का ४१ बर्षीय केशव खड्का, २४ बर्षीय अर्जुन लिम्बु र ३५ बर्षीय रोशन राईलाई एक ट्याक्टर गोलिया काठसहित पक्राउ गरेको हो । राती करिब ८ बजे बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको साथबाट स १ प ७४९८ नम्बरको मोटरसाइकल र ४ सेट मोवाइल स पनि वरामद भएको एसपी ढकालले बताए । वरामद भएको गोलिया काठ १२० क्युफिट बरामरको रहेको छ । यसको बजार मुल्य ४ लाख २० हजार रहेको पनि सशस्त्रका एसपी ढकालले जानकारी दिए ।
को २ त ९९९० नम्बरको ट्याक्टर, वरामद भएको काठ र पक्राउ परेका तीनै जनालाई डिभिजन वन कार्यालय इनरुवामा आवश्यक कारबाहीको लागि पठाइएको ढकालले जानकारी दिए । लकडाउनका मौका विगत केही दिन यतादेखि सुनसरी र मोरङका घना जंगलहरुमा काठतस्करी र जंगली जनावरहरुको चोरी सिकारी बढेसंगै सशस्त्र प्रहरीले जंगलहरुमा निगरानी बढाईरहेको छ ।
केही दिनअघि लकडाउनको मौका छोपी काठतस्करी गर्नेलाई मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रको लाठीझोडा वन क्षेत्रबाट एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यसैगरि सलकपुर वन क्षेत्रमा त सिकारी र काठ तस्कर बीच दोहोरो गोली हानाहान नै भएको थियो । सो स्थानबाट ३ जना सिकारीलाई भरुवा बन्दुक सहित सशस्त्र प्रहरी टोलीले पका्रउ गरेको थियो । मोरङको पथरीबाट पनि लकडाउनकै बेला काठतस्करी गर्ने एक जनालाई प्रहरीले यसअघि पक्राउ गरिसकेको थियो ।