इटहरीः सुनसरी प्रशासनले भोलिबाट अत्यावश्यक पसलहरु बिहान ३ घण्टासम्मका लागि खोल्न दिने भएको छ । बिहान ७ बजेदेखि १० बजेसम्मका लागि अत्यावश्यक पसलहरु खोल्ने दिने भएको हो । 

उद्योग वाणिज्य संघले सुनसरीबासीहरुलाई अत्यावश्यक बस्तुहरुको अभाव भएको र खरिदका लागि समस्या भएको भन्दै आवश्यक व्यवस्था मिलाउन प्रशासनलाई गरेको आग्रहलाई स्वीकार गरि मंगलबार यस्तो निर्णय गरेको हो ।

सुनसरी प्रशासनले दैनिक उपभोग्य सामान खरीदमा देखिएको असहजता हटाउँदै साँझ हुने भिडलाई व्यवस्थित गर्न समय निर्धारण गरी अत्यावश्यक सेवा प्रवाहको बन्दोवस्ती मिलाइउन सम्वधित निकायलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार विहान ७ बजे देखि १० बजे सम्म बजार पसल खुल्न सक्ने छ । सोको व्यवस्था मिलाउन स्थानीय निकाय र उद्योग वाणिज्य संघलाई समन्वयकारी भूमिका निर्वाह गर्न सुनसरी प्रशासनले निर्देशन समेत दिएको छ ।
उद्योग वाणिज्य संघले आवश्यकताका आधारमा सर्ट लिष्ट जारी गरी तोकिएका पसल मात्रै खोल्न पाइने प्रजिअ पौडेलले बताए । कुन पसल खोल्ने भन्ने अन्तिम निर्णय भने सम्वन्धित क्षेत्रको उद्योग वाणिज्य संघमा निहित हुने उनले बताए । स्थानीय तहका जनतामा जे बढी आवश्यक त्यसका आधारमा स्थानीय तहसँगको समन्वयमा निर्णय हुने प्रजिअ पौडेलले बताए ।