इटहरीः कक्षा ९ मा अध्ययनरत १५ बर्षीया एक बालिकालाई आत्महत्या गराउन बाध्य बनाएको अभियोगमा प्रहरीले मोरङको मिक्लाजुङ्ग गाउँपालिका–४ का दुई युवालाई पक्राउ गरेको छ ।
उनिहरुले मिक्लाजुङ्ग गाउँपालिका–४ सफेवा निवासी १५ बर्षीया मन्जु नेम्वाङ्ग लिम्बूलाई आत्महत्या गर्न बाध्य बनाएको उजुरीका आधारमा ती दुई युवालाई दुरूसाहन मुद्धामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले मिक्लाजुङ्ग गाउँपालिका–४ निवासी २१ वर्षीय मदन लिम्बू र सोही ठाउँका २२ वर्षीय पारस राईलाई पक्राउ गरेको हो । आत्महत्या गर्ने १५ बर्षीया बालिका मन्जुले सुसाइट नोटमै उनिहरुको नाम किटान गरेर लेखेकी थिइन् । उनले सुसाइट नोटमा आफुलाई जबरजस्ती करणी गर्नेलाई कानूनी कार्वाहीको माग गरेकी थिइन् ।
प्रहरीले दुवै जनालाई मुलुकी फौजदारी संहिता दफा १८५ अनुसार अपराध गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरिक्षक सुवास राईले जानकारी दिए ।
गत शनिबार १५ वर्षीय मन्जु नेम्वाङ्ग लिम्बूले सुसाइट नोट लेखेर आत्महत्या गरेकी थिइन् । पीडित परिवारले किटानी जाहेरी दिएपछि दुई युवालाई पक्राउ गरि बुधबार दुरुसाहन मुद्धामा म्याद थप गरि अनुसन्धान प्रकृया अगाडी बढाएको प्रनि राईले बताए । मुलुकी फौजदारी संहिता १८५.२ मा आत्महत्या गर्न दुरुत्साहन दिने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गर्नेलाई पाँच वर्ष कैद र ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । यो प्रकरणमा आत्महत्या गर्न बाध्य बनाएको पुष्टि भएमा कम्तिमा ५ वर्ष जेल सजाय हुन सक्ने कानुन व्यवसायीको भनाइ छ ।
पीडित परिवारले सोमबार इप्रका उर्लाबारीमा किटानी जाहेरी दिएको मृतका आफन्त महेन्द्र थेगिमले जनाए । घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कारवाहीको दायरमा ल्याउनुपर्ने उनको माग छ ।