इटहरीः उपेन्द्र यादवले नेतृत्व गरिरहेको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच केही बेरअघि काठमाण्डौंमा पार्टी एकता भएको छ । एकतापछि पार्टीको नयाँ नाम ‘जनता समाजवादी पार्टी’ राखिएको छ ।
केहीबेर अघि मात्र पार्टी एकता भएको सहमति पत्रमा दुवै पार्टीका शिर्ष नेताहरुले हस्ताक्षर गरेका छन् । राजपाको तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी र महेन्द्र राय यादवले पार्टी एकता पत्रमा हस्ताक्षर गरेका छन् । उता समाजवादी पार्टीका तर्फबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
दुई पार्टीको सहमति पत्र अनुसार जनता समाजवादी पार्टीको झण्डा समाजवादीले प्रयोग गर्दै आएको हुने र चुनाव चिन्ह भने राजपाले निर्वाचन आयोगबाट लिइ चुनाव समेत लडिसकेको छाता हुने छ । सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने अनुमान भइरहेका बेला दुई पार्टीले बुधबार मध्यरातमा यी दुई पार्टी एक भएका हुन् ।
पार्टी एक हुनु अघि राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा दुवै पार्टीका शीर्ष नेताहरुबीच एकता वार्ता भएको थियो । पार्टी एकतालाई दुवै पार्टीका शिर्ष नेताहरुले ऐतिहासिक भनेका छन् । दुई पार्टी एक भएपछि नेपालको राजनितिक वृत्तमा नयाँ खालको तरंग उत्पन्न हुनुका साथै अनेकखालका अड्कल बाजीहरु प्नि शुरु भएको छ । अब आउने निर्वाचनमा नयाँ बनेको जनता समाजवादी पार्टी नयाँ राजनितिक शक्तिका रुपमा उदय हुने चर्चा पनि शुरु भएको छ ।