विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा ८० हजार संक्रमित थपिँएका छन् भने ६ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् ।

योसँगै विश्वभर संक्रमितको संख्या २६ लाख ३७ हजार नाघेको छ । जसमध्ये ७ लाख १७ हजार व्यक्ति निको हुँदा १ लाख ८४ हजार बढी संक्रमितले ज्यान गुमाएका छन् ।

वर्ल्डोमीटरका अनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा २ हजार ३ सय ४१ जनाले ज्यान गुमाउँदा २९ हजार ९ सय संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ संक्रमितको कुल संख्या ८ लाख ४८ हजार नाघ्दा ४७ हजार ६ सय व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै अमेरिकामा हालसम्म ८४ हजार संक्रमित उपचारपछि घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा बेलायतमा ७६३, फ्रान्समा ५४४, इटालीमा ४३७, स्पेनमा ४३५, बेल्जियममा २६४, जर्मनीमा २२९, ब्राजिलमा १६५, स्वीडेनमा १७२, मेक्सिकोमा १४५, नेदरल्याण्ड्समा १३८, टर्कीमा ११७ जनाले ज्यान गुमाएका छन् ।

बुधबार दक्षिण एसियाको भारतमा ३६, पाकिस्तानमा ११, बंगलादेशमा १० र अफगानिस्तानमा ४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा दक्षिण एसियाका बाँकी देशमा भने कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको कोरोनाबाट हालसम्म विश्वका २१० देश प्रभावित भइसकेका छन् ।यस भाइरस बाट नेपालमा हाल ४८ जना संक्रमित छन् । ७ जना निको भई घर पर्किसकेका छन् भने अन्यको अबस्था सामान्य रहेको छ ।