इटहरीः लुकेर बसेका तीन भारतीय नागरिकलाई आज प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ बाट नियन्त्रणमा लिएको छ । स्थानीय बासिन्दाहरुको सूचनाका आधारमा सुन्दरहरैंचा ९ मा कवाडीको पसलमा लुकेर काम गर्दै आएका तीन भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा लगिएको हो ।
उनिहरुलाई पूर्वाञ्चल विश्वविद्यालयस्थित शिक्षण अस्पतालको क्वारेन्टाइनमा लगिएको छ । उनीहरु काठमाडौंको बालाजु क्षेत्रमा गुडिया लगायतका समान विक्रि गर्दै आएको र केही दिन अघि मात्र लुकिछिपी सुन्दरहरैैंचा आइपुगेको पाइएको सशस्त्र प्रहरी सलकपुरका प्रहरी निरीक्षक विदुर भट्टराईले जानकारी दिए । यसरी नियन्त्रणमा लिइएकाहरुमा भारतको बंगालका ३८ वर्षका एक र ४० बर्षका दुई पुरुष भएको प्रनि भट्टराईले बताए ।
पूर्वाञ्चल विश्वविद्यालयको शिक्षण अस्पतालका डाइरेक्टर विपेश आचार्यले तीनै जनाको स्वाथ्य अवस्था सामान्य रहेकाले नगरपालिकासँग समन्वय गरेर उनीहरुलाई कहाँ पठाउने भन्ने विषयमा निर्णय लिइने जानकारी दिए ।