इटहरीः धनकुटा बहुमुखी क्याम्पस अध्ययनरत छथरजोरपाटी गाउँपालिका वडा नं.१ हात्तीखर्क माक्लुङ्ग निवासी १८ वर्षीया वर्षा तामाङको मृत्यु प्रकरण थप रहस्यमय बनेको छ । बर्षाका बुबा सुजनले आफ्नी छोरीले आत्महत्या नगरेको प्रदीपले हत्या गरि नाटकीय तरिकाले झुण्डाएको दावी गर्दै जिल्ला प्रहरी कार्यालयमा किटान जाहेरी दिएका छन् । तर प्रहरीले प्रदीप विरुद्ध दुरुत्साहन मुद्धा मात्र दर्ता गरेको छ ।
परिवारका सदस्यहरुले आवश्यक प्रमाणहरु सहित प्रदीप विरुद्ध किटान जाहेरी दिएपनि दर्ता गर्न अस्वीकार गरि दुरुसाहन मुद्धा मात्र दर्ता गरेपछि बर्षाको हत्या हो या आत्महत्या भन्ने बहस अनेक कोणबाट शुरु भएको छ । धनकुटा जिल्ला प्रहरी कार्यालयले प्रदीपलाई बर्षाको परिवारको उजुरीकै आधारमा नियन्त्रण लिई दुरुसाहन मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान थालिएको जनाएको छ । प्रहरीले बर्षाको पोष्टमार्टम रिर्पोट परिवारका सदस्यहरुले दिएका केही प्रमाणहरुमाथि छानविन गर्दा हत्या नै भएको पुष्टि भए प्रदीप विरुद्ध हत्या अभियोगमै मुद्धा दर्ता गर्ने बताएको छ । तर हाललाई त्यो नदेखिएको र आवश्यक अनुसन्धान पनि पुरा नभएकाले परिवारको किटान जाहेरी दर्ता नगरेको दावी धनकुटा प्रहरीको छ ।
बैशाख ३ गते घर नजिकैको अम्लिसो घारी भित्रको दुदिलोको बोटमा दुवै खुट्टाले जमिन भेट्ने गरि झुण्डिएको अवस्थामा उनको मृत्त शब परिवारका सदस्यहरुले फेला पारेका थिए । अघिल्लो दिन बिहानबाट खेतबारीको गोठमा काम गर्न गएकी उनि एकाएक वेपत्ता भएकी थिइन् । सो दिन उनका प्रेमी धनकुटा नगरपालिका वडा नम्बर २ भीरगाँउका २४ बर्षीय प्रदीप तामाङ उनलाई खोज्दै घरै आएका थिए ।
बर्षाको घर आएका प्रदिपले बुबा आमा बर्षाको बारेमा सोधेको र उनिहरुले काम गर्न गोठ तर्फ गएको जनाएपछि प्रदीप पनि गोठ तर्फ नै गएका थिए । तर दिउँसो १ बजेसम्म बर्षा र प्रदीपनै नआएपछि परिवारका सदस्यहरुले उनको खोजी शुरु गरेका थिए । खोज्नै क्रममै प्रदीपलाई बर्षाका बुबा सुजनले फोन गरेर बर्षा घरमा नआएको जनाकारी लिदा आफु भने भीरगाँउ आइपुगेको जवाफ दिएका थिए ।
लगत्तै बर्षाका बुबाले उनलाई तत्काल आफुहरुको घर आउन भनेका थिए । प्रदीप पुनः भीरगाँउबाट फर्किएर दिउँसो ४ बजेको समयमा बर्षाको घर पुगेका थिए ।
यस्तो छ, बर्षाको मृत्यु प्रकरणको नालीबेली
वैसाख ३ गते बुधबार गोठबारीबाट हराएकी बर्षाको खोजी गर्ने क्रममा उनको मृत शरीर भने ४ बैशाख बिहीबार ११ बजे घर नजिकैको अम्लिसो घारी भित्रको दुदिलोको बोटमा झुण्डिएको अवस्थामा परिवारले फेला पारेका थिए ।
धनकुटा नगरपालिका वडा नंं.२ भिरगाउँका वर्ष २४ का प्रेमी प्रदीप तामाङ र वर्षाबीच करिब ३ वर्ष पहिलेदेखि एक आपसमा चिनजान भएको थियो । प्रदीपको मात्र एकोहोरो (एकतफी लभ) माया प्रेम रहेको थियो । प्रदीप वर्षालाई विगत लामो समयदेखि भित्री हृदयदेखि नै मन पराउने गरेको तर, वर्षाबाट प्रदिपले त्यो माया नपाएपछि परिस्थितिले यो घटना निम्त्याएको हो कि भन्ने अड्कलबाजीहरु पनि सुरू भएका छन् ।
घटना भएको दिन बिहान नै भिरगाउँबाट प्रदीप हिँडेर वर्षाको घर माक्लुङमा करिब ८ बजेको समयमा पुगेको दाजु सागर गोम्देन बताउछन् । वर्षा पनि बिहान करिब ७ बजेतिरै घरबाट बारीमा काम गर्न र गोठमा गाईबस्तुलाई घाँस हाल्न भनेर निस्किएकी थिइन् । ७ बजे वर्षा घरबाट बारीमा काम गर्ने भन्दै गाईलाई घाँस हाल्न निस्कनु, त्यही दिन प्रदीप पनि वर्षा खोई ? भन्दै खोज्दै घरमा पुग्नुले घटना रहस्यमय बनेको गाउँलेहरू अनुमान छ ।
बिहान घरबाट निस्किएको छोरी दिउँसोको १ बजेसम्म घर नफर्किएको र वर्षालाई खोजी गर्ने प्रदीप पनि गाउँघर तिरै डुलिरहनुले वर्षाले आत्महत्या गरेको नभई निज प्रदीपले हत्या गरेको दावी बुबा सुजनको छ ।
छोरी अपरान्ह २ बज्दासम्म पनि घर नफर्किए पछि कहाँ गईन, के भयो भनेर खोजतलास गर्न प्रदिप तामाङलाई फोन् गर्दा आफुलाई वर्षाको विषयमा थाहा नभएको र घर फर्किएर त्रिशुले पुगेको वताएका थिए । त्रिशुले पुगेका प्रदिपलाई वर्षाको बुबा, आमाले फोन गरेर घरमा बोलाए पछि उनी करिव सोही दिनको ४ वजे तिर पुनः वर्षाको घरमा पुगेका थिए । बर्षा यति बेलासम्म आईनन् कता गईन, तिमिलाई थाहा होलानी भन्दा आफूलाई पनि थाहा नभएको प्रदिपले बताए पछि वर्षाको परिवारले उनलाई नियन्त्रणमा लिएर घरैमा राखेर प्रदिपका बुबा चन्द्रलाल तामाङलाई भिरगाउँबाट बोलाएका थिए । सो वखत छोरा प्रदिपले पनि बुबा चन्द्रलाललाई आफु माथि कुटपिट भएको र बर्षाको घरमै नियन्त्रणमा रोखेको भन्दै चाँडो आउन बोलाएका थिए ।
चन्द्रलालले पनि आफु साँझ ६ वजे गाँउ स्थानीय र आफन्त सहित बर्षाको घर आएका थिए । सो बिचमा बर्षाको दाजु सागरले प्रदिपलाई बहिनीको विषयलाई लिएर सामान्य कुटपिट समेत गरेको र पछि प्रदिपको बुबा आए पछि पुनः चन्द्रलालले पनि सागरलाई कुटपिट गरे पछि स्थिती तनाबपुर्ण भएको थियो । चन्द्रलालले पनि सहयोगी साथीहरु सहित गएकोले आफ्नो छोरा माथि कुटपिट भएको भन्दै प्रतिकार गरेका थिए । चन्द्रलालले बर्षा र प्रदीप बीच ३ बर्षअघिबाट प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् । उनले बर्षालाई धेरै माया गर्ने आफ्ना छोरा प्रदीपबाट अपराध हुनै नसक्ने दावी गरेका छन् ।
चन्द्रलालसंग आएको टोलका र वर्षाको परिवार, अन्य गाउँले विच एक आपसमा तनाब सृजना मात्र नभै हातहाल हालसम्मको स्थित आएपछि हिले प्रहरी चौंकीलाई खबर गर्नु पर्ने अवस्था सृजना भएको थियो । बर्षाको घरमै दुइ पक्ष बीच ठूलै तनाव सृजना हुने भएपछि चन्द्रलालले नै हिले प्रहरी चौकीमा घटना बारे खबर गरेका थिए । खबर पाउनसाथ हिले प्रहरी चौकीका इन्चार्ज कुमार ढकालको नेतृत्वमा प्रहरीको एक टोली बर्षाको घर पुगेको थियो ।
ढकालको टोली राती करिब ८ वजे सो स्थान पुगेको थियो । तनावपूर्ण परिस्थितिमा ढकालको पहलमा दुबै पक्षलाई सम्झाई बुझाई आवश्यक परेको अवस्थामा प्रदीपलाई जुनै पनि बेला प्रहरी कार्यालय ल्याउने शर्तको लिखित कागज गरेपछि अवस्था सामान्य बनेको थियो । ढकाल सहितको प्रहरी टोली सो दिन रातको १२ बजे प्रदीपलाई बर्षाको घरबाट लिएरै प्रहरी चौकी हिले पुगेको थियो ।
दुदिलोको रुखमा मृत अवस्थामा भेटिएको बर्षाको दुबै घुँडा भुँईमा टेकिएको अवस्थामा भेटिएको बाजे नगेन्द्र स्याङ्गबोले बताएका छन् । झुण्डिएको अवस्थामा घुँडाले भुँई छोएको देख्दा बर्षा आफै झुण्डिनु भन्दा पनि अरु कसैले झुन्ड्याएको हो कि भनेर सहजै अनुमान गर्न सकिने दाबी नगेन्द्रले गरेका छन् । मृतकका बुबा सुजन तामाङले छोरी पनि हराउनु, प्रदिप पनि दिनभर गाउँघर मै घुमिरहनुमा उसमाथि ठूलो शंका रहेको बताए ।
प्रहरीले हत्या गरेको भन्ने प्रमाणको अभावमा कर्तव्य ज्यान सम्वन्धी वर्षाकी प्रेमी प्रदिप तामाङ विरुद्ध किटानी जाहेरी लिन नमाने पछि आत्महत्या गर्न टचर दिएको भन्दै दुरुत्साहनको जाहेरी आईतबार जिल्ला प्रहरी कार्याल्य धनकुटामा दर्ता भएको छ । प्रहरीले पनि पिडितले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत धनकुटामा १० दिनको लागी म्याद थप गरेर निजविरुद्ध घट्नाको अनुशन्धान प्रक्रिया अघि वढाएको जनाएको छ ।
प्रदीपलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले बर्षा र प्रदीप बीच भएका कल डिटेल, मोवाईलको म्यासेन्जरमा भएका कुराकानी सवै प्रमाणलाई केलाउँदा जे ठहरिने प्रमाणहरु जुट्छन् सो अनुसारको कानूनी सजाय धनकुटा जिल्लाका प्रहरी प्रमुख सुदर्शन प्रसाद कोईरालाको भनाई छ । उनले घट्नालाई प्रहरीले कुनै व्यक्ति या समूहको प्रभावमा नपरि सत्यतत्थ्य छानविन गर्ने बताए । उनले छानविन पछि जे आउछ सोही अनुसार आवश्यक मिशिल तयार पारी अदालत पेश गर्ने भएकाले घटनाका बिषयमा अनेक खालका शंका उपशंका नगर्न आग्रह पनि गरेका छन् । उनले मुलुकी फौजदारी संहिताको धारा १८५ को उपधारा २ मा आत्महत्या गर्न दुरुत्साहन गर्ने र त्यस्तो काम गर्नसम्मको परिस्थिति खडा गर्नेलाई ५ वर्ष कैद र ५० हजार रुपयाँ जरिवाना गर्ने कानुनी व्यावस्था रहेको बताए ।