बेलबारीः लकडाउनको मौका छोपी मोरङको बेलाबारी नगरपालिका र केराबारी गाउँपालिकाका व्यपारीहरुले म्याद गुज्रिएका खाद्य सामाग्रीहरु पसलमा राखेर बिक्री वितरण गरिरहेको अनुगमनका क्रममा फेला पारिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजकत्वमा सम्बन्धित नगरपालिका र गाँउ पालिकाका जनप्रतिनिधिहरु समेतको सहभागीतामा भएको बजार अनुगमनमा क्रममा म्याद गुज्रिएका खाद्य सामाग्रीहरु फेला परेका हुन् । फेला परेको ती सामाग्रीहरु पसलबाट जफत गरि नष्ट गर्नुका साथै संचालकहरुलाई दण्ड स्वरुप जरिवाना समेत गराइएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजकत्वमा, वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय विराटनगर, औषधि व्यवस्था कार्यालय विराटनगर, पब्लिक फोरम विराटनगर र प्रहरीसहितको टोलीले बजार अनुगमन गरेको हो । टोलीले सुरुमा केराबारी गाउँपालिकामा रहेका २ वटा किराना पसल र एउटा मेडिकलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा विष्णु किराना पसल केराबारीमा सुरज ब्राण्डको पापड २ सय ग्राामको ८ थान म्याद उल्लेख नभएको पाइएकाले नष्ट गरिएको र अबदेखि म्याद नलेखिएको सामान नराख्न चेतावनी दिइएको घरेलु कार्यालयका नायव सुब्बा गोपालप्रसाद धमलाले जानकारी दिए । यस्तै केराबारीकै अमृत स्टोरमा विकेविएम मसला २५० ग्रामको ९ थान, पाइनापल क्यान जुस ४ थान, घ्यू ३ बट्टा म्याद सकिए पनि विक्रिमा राखिएको पाइएकाले नियन्त्रणमा लिएर नष्ट गरिएको छ । यसैगरि हिमालय अयुर्वे्दिक औषधालय र केराबारी मेडिकल एकै ठाउँमा रहेकाले अलग अगल रुपमा सञ्चालन गर्न निर्देशन दिइएको छ । सो मेडिकलमा सेनिटाइजरको बिल नभेटिएकाले अबदेखि विल दुरुस्त राख्न चेतावनी दिएको धमलाले जानकारी दिए ।
सो टोलीले केराबारी पश्चात बेलबारीमा रहेको विन्धबासीनि खाद्य उद्योग र प्रदीप स्टोरको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा विन्धवासीनी खाद्य उद्योगले चामलको मूल्य बजार भाउ भन्दा केही बढी लिएको पाइएकाले नगरपालिकासँग समन्वय गरेर मूल्य कायम गर्न निर्देशन दिएको धमलाले जानकारी दिए । यस्तै बेलबारीकै प्रदीप स्टोरले म्याद उल्लेख नभएको पापड, म्याद गुज्रिएको चिल्ली सस र डाबर हनी विक्रिका लागि राखिएको पाइएको छ ।

94828084_676236126253578_9192631710376787968_n
प्रदीप स्टोरले दुर्गा ब्राण्डको पापड ५० ग्रामको ६१ थान, कमल पापड १०० ग्रामको २५ थान म्याद नभएको तथा चिल्ली सस ६ बोतल म्याद सकिएको र २५० ग्राम डाबर हनि म्याद सकिएको राखिएको पाइएको छ । यस्तै कतिपय सामानको विल समेत नराखेको पाइएको छ । म्यादसकिएको र म्याद नभएको सबै सामान नष्ट गरिएको र प्रदीप स्टोरलाई उपभोक्त संरक्षण ऐन अनुसार २० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमाल बरालले जानकारी दिए ।
उनले व्यापारीहरुलाई म्याद गुज्रिएका सामानलाई फिर्ता हुने समान उल्लेख गरि अलग ठाउँमा राख्न सुझाव दिए । यस्तै मिति उल्लेख नभएको सामान खरिद नगर्न र खरिद विल दुरुस्त राख्न समेत उनले आग्रह गरे । उनले विभिन्न स्थानीय तहसँग समन्वय गरि निरन्तर अनुगमन गरिने समेत जानकारी दिए । दुबै ठाउँको अनुगमनका क्रममा स्थानीय तहसँगसमेत सहकार्य गरिएको थियो ।
अनुगमन टोलीमा संलग्न पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेलले यसरी गरिने अनुमगनबाट उपभोक्ताहरु तथा व्यापारीहरु सचेत हुने र भोलिका दिनमा उपभोक्ताहरु ठगीनबाट बच्ने बताए । उनले कतै ठगीएको महसुस गरेमा स्थानीय सरकार, प्रहरी, उपभोक्तावादी संस्था र निकायमा उजुरी गर्न पनि सबैमा आग्रह गरे ।
घरेलु तथा साना उद्योग कार्यालय विराटनगर, वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय विराटनगर, पव्लिक फोरम लागायतको टोलीले यसअघि विराटनगर, बूढीगंगा लगायत ठाउँमा समेत अनुगमन गरिससकेको छ । अगामी दिनमा जिल्लाका अन्य ठाउँमा समेत अनुगमन जारी राख्ने बताइएको छ ।