इटहरीः उद्योग वाणिज्य संघहरुको आग्रहमा बुधबारदेखि बिहान ३ घण्टासम्मका लागि दैनिक अत्यावश्यक खाद्यबस्तुहरुको पसल खोल्ने दिने निर्णयसंगै जिल्ला अधिकांश स्थानमा सामाजिक दुरीलाई ख्यालै नगरि अत्याधिक भिडभाड बढेपछि भोलि अर्थात सुक्रबाट लकडाउन कडा पारिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीलाई जिल्लाका बिभिन्न स्थानीय निकाय र प्रहरीबाट ३ घण्टा दिइएको समयमा पसलहरुमा थामिनसक्नु गरि सामाजिक दुरीलाई समेत ख्याल नराखी भीड बढेको जानकारी प्राप्त पछि संभावित जोखिमलाई रोक्न सुनसरी प्रशासन आफैले गरेको निर्णयबाट पछि हटेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालयले सुनसरीबाट बिहान ७ बजेबाट १० बजेसम्म खाद्यान्न, तरकारी लगायतका अत्यावश्यक बस्तुका पसल खोल्न दिने निर्णय गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार भोलिबाट औषधीका पसल बाहेक अन्य सबै पसलहरु बन्द रहने छन् । खाद्यन्न, तरकारीका पसल पनि नखुल्ने प्रशासनले जनाएको छ ।
खाद्यान्न पसलको नाममा घडी, चस्मा लगायत पसलहरु ख्ुल्नुका साथै सामाजिक दुरीलाई ख्याल नगरि अत्याधिक भीडभाड बढेको चौतर्फी गुनासो आएपछि आफ्नो निर्णयबाट आफै पछि हटेको प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताए । आवश्यक परेमा तरकारी, खाद्यान्न, दूध लगायतका दैनिक उपभोग्य वस्तु होम डेलिभरीको व्यवस्था गर्नका लागि भने खुल्ला रहेको उनले बताए । पसल भने खुल्न नदिने उन बताए । शुक्रबारबाट लकडाउनलाई थप कडा र प्रभावकारी बनाइने उनको भनाई छ ।
यता इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मि गौतमले बिहिबार अनुगमनका क्रममा धेरै खाद्यन्न पसल तथा मिनि डिपान्टमेन्ट स्टोरमा सामाजिक दुरीलाई समेत ख्याल नगरी अनावश्यक भीड गरेर सामान खरिद गरेको पाएकी थिइन् । उनले पसल संचालक र सेवाग्राहीलाई सामाजिक दुरी कायम गर्न अनुरोध गरेकी थिइन् । उनीसंगै अनुगमनमा गएका नगर प्रहरीलाई कतिपय पसलहरुमा लागेको भीड हटाउन निकै कठिन परेको थियो ।