मेचीनगरः मेचीनगरमा लागू औषधका प्रयोगकर्ताहरुलाई क्वारेन्टाइनमा राखेर कुलतबाट छुटाउने नयाँ जुक्ति प्रयोगमा ल्याइएको छ । क्वारेन्टाइनमा कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय सुरु गरिएको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीलाई कडा बनाउँदै लगेपछि लागू औषधको खोरक नपाएर छटपटाएका अधिकांश प्रयोगकर्ताहरु बन्दाबन्दी उल्लङ्घन गर्दै सडकमा निस्केर उत्पात मच्चाउन थालेको स्थानीयवासीले गुनासो गर्दै आएका थिए ।

बन्दाबन्दीले लागूऔषध व्यापारको जालो भत्किएपछि कुलतमा लागेका कतिपय य्ुवा रातिको समयमा समेत सुरक्षाकर्मीको आँखा छलेर सीमा क्षेत्रबाट भारततिर पस्ने गरेको घटनामा बढोत्तरी भएको थियो ।

अब स्थानीय राजनीतिक दलहरुसँगको सहमतिमा नगरपालिकाले गरेको निर्णय अनुसार कुलतमा लागेका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न थालिसकेको छ ।

बन्दाबन्दीको अवज्ञा गर्दै पूर्वी नाकाबाट भारततिर जाने र स्थानीयवासीलाई त्रसित बनाउँदै जथाभावी हिँड्ने लागू औषध प्रयोगकर्ताहरुलाई मेचीनगर नगरपालिकाको पहलमा प्रहरीले क्वारेन्टाइनमा राख्न थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले बताए ।

क्वारेन्टाइनमा राखिएका त्यस्ता व्यक्तिहरुलाई लागूऔषधको कुलतबाट छुटकारा दिलाउन उपचारको विधिसमेत प्रयोग गरिने उनले जानकारी दिए ।

मेचीनगर–८ स्थित इटाभट्टामा रहेको आदर्श माध्यमिक विद्यालयलाई विशेष क्वारेन्टाइन बनाई उनीहरुलाई बुधबारदेखि उपचार गर्न थालिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले बताइन् ।

उनका अनुसार मेचीनगर क्षेत्रका १५० जना लागूऔषध प्रयोगकर्तालाई विशेष क्वारेन्टाइनमा राख्ने योजना रहेको छ । बुधवार नै काँकरभिट्टा आसपासबाट सीमा काटेर भारततिर लागूऔषध लिन जाँदै गर्दा पक्राउ परेका ६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

लागू औषधको अभावमा भौतारिँदै हिंड्नेहरुबाट बन्दाबन्दी उल्लङ्घन मात्र नभएर सामाजिक अपराधका घटना बढ्नसक्ने आँकलन गर्दै शान्तिसुरक्षाका लागि समेत उनीहरुलाई क्वारेन्टाइनमा राखेर सुधार्न जरुरी भएको झापाका प्रहरी प्रमुख कोइरालाको भनाई छ ।

नगरपालिका र प्रहरीको यो पहललाई स्थानीय राजनीतिक दल र सामाजिक क्षेत्रका अगुवाहरुले सक्रिय सहयोग पुर्याउने भएका छन् । नगरको कुनै पनि बजार र गाउँबाट लागूऔषधका प्रयोगकर्ताले बन्दाबन्दी उल्लङ्घन गरेको खबर प्राप्त हुनासाथ प्रहरीले स्थानीय जनप्रतिनिधिसँग मिलेर उनीहरुको खोजतलास गरी क्वारेन्टाइनमा ल्याउने व्यवस्था मिलाएको छ ।

क्वारेन्टाइनमा राखिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सुरक्षाको विशेष व्यवस्था गरेको छ । क्वारेन्टाइनमा कडा अनुशासनमा राख्नु पर्ने र त्यहाँबाट भाग्ने प्रयास हुने सम्भावनालाई ध्यानमा राखी प्रहरीले विशेष सुरक्षाको प्रबन्ध मिलाएको छ ।

क्वारेन्टाइनमा कडा सुरक्षाका साथ राखिएका उनीहरुको औषधि उपचारदेखि सम्पूर्ण आर्थिक व्यवस्थापनको भार नगरपालिकाले व्यहोर्ने उपप्रमुख उप्रेतीले बताइन् । उनीहरुलाई सुधारगृहकै विधि प्रयोग गरी कुलतबाट छुटकारा दिलाउनु पर्ने भएको हुँदा मनोपरामर्शका लागि नगरक्षेत्रकै सुधार केन्द्रका विज्ञहरुलाई पालो मिलाएर क्वारेन्टाइनमा परामर्शका लागि बोलाइएको जिल्लाका प्रहरी प्रमुख कोइरालाले जानकारी दिए ।

उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र सुधार भएकालाई अभिभावकको जिम्मा लगाएर घर पठाइने बताइएको छ । बन्दाबन्दी लम्बियो भने क्वारेन्टाइनमै राख्ने र नत्र त्यहाँ रहेकालाई वैधानिक सुधार गृहमा पठाइने मेचीनगरकी उपप्रमुख उप्रेतीको भनाई छ ।

यसअघि लागूऔषध सेवन गर्नका लागि बन्दाबन्दीको समयमा काठमाडौंबाट नक्कली डाक्टरको भेषमा कार चढेर काँकडभिट्टा नाकामा आइपुग्दा पक्राउ परेका दुई युवा हाल मेचीनगरको क्वारेन्टाइनमै छन् भने लागूऔषधको खोजीमा निस्कदा बन्दाबन्दी उल्लङ्घन गरेको आरोपमा नियन्त्रणमा लिइएका केही व्यक्ति क्वारेन्टाइनको झ्याल फोडेर भागेका थिए ।रासस